NGOs In Nepal

  Backward Society Education (BASE)
सन् १९८५ को जनवरीमा यसको स्थापना भएको हो। निरक्षरता, गरिबी तथा सबै सीमान्तीकृत समुदायमा व्याप्त सामाजिक तथा राजनीतिक विभेदका विरुद्ध लड्न यो संस्था प्रतिबद्ध छ। यसको लक्ष्य उत्पीडनको शिकार भएका मानिसहरू र तिनका उत्पीडकहरूको दृष्टिकोणमा परिवर्तन ल्याउनु हो। नेपालका मध्य पश्चिम र सुदुर पश्चिम क्षेत्रका आठवटा जिल्लामा यो गैरसरकारी संस्था क्रियाशील छ। दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, सल्यान, सुर्खेत र रुकुम जिल्लाहरू संस्थाको कार्यक्षेत्रभित्र पर्दछन्। यस संस्थाले औपचारिक तथा अनौपचारिक शिक्षा, मुक्त कमैयाहरूका अधिकारहरू सुनिश्चित गर्ने र कायम राख्ने, आजीविकाका लागि सहयोग, बाल श्रम उन्मूलन, दिगो लोकतन्त्रका लागि सहयोग, मानव अधिकार हननको निगरानी, द्वन्द्व न्यूनीकरण, खानेपानी तथा सरसफाइ, वातावरणीय दिगोपन, विपत्ति व्यवस्थापनका लागि तयारी र प्रतिक्रिया, पूर्वाधार विकासका लागि सहयोग, परम्परागत तथा आदिवासी संस्कृतिको संरक्षण र संबर्द्धन, सशस्त्र समूहसँग सम्बन्धित बालबालिकाहरूका लागि सहायता आदि विषयमा कार्य गर्दछ। यो दक्षिण एशियाकै सबैभन्दा ठूला सामाजिक आन्दोलनहरूमध्ये पर्दछ। सयौं बाल क्लब, महिला समूह, आय आर्जन समूह र अन्य सामुदायिक संस्थाहरूले समेत BASE को सदस्यता लिएर यस संस्थालाई थप व्यापक बनाएका छन् ।
 

 

  Biogas Sector Partnership (BSP)
यो उपयुक्त ग्रामीण तथा पुनर्नवीकरणीय ऊर्जाहरूमध्ये ग्रामीण जनताको जीवनस्तर उठाउनका लागि प्रभावकारी मानिएको बायो ग्यास प्रविधिको विकास तथा प्रवर्द्धनमा लागि परेको व्यावसायिक संस्था हो । सन् २००३ मा स्थापित यस संस्थाले निम्नलिखित उद्देश्य लिएको छ :
क. नेपालका ग्रामीण क्षेत्रमा उर्जाको प्रमुख स्रोतका रूपमा रहेको बायोग्यासको विकास र विस्तार गर्ने;
ख. दफा (क) मा उल्लेख भएको प्रमुख उद्देश्य हासिल गर्ने र बायोग्यासलाई ऊर्जाको दिगो स्रोत बनाइराख्नका लागि निम्नलिखित कदमहरू चाल्ने;
अ. संस्थागत सशक्तीकरणका लागि विस्तृत योजनाको अभ्यास गर्ने
आ. बायोग्यास कम्पनीहरूलाई सहयोग गर्नका लागि मध्यम स्तरको योजना तर्जुमा गर्ने
इ. बायोग्यासबाट अधिकतम फाइदा लिनका लागि लघु-परियोजनाका माध्यमबाट कार्य गर्ने
ग. राष्ट्रिय नीति मुताबिक कार्यक्रमहरू लागू गर्नका निम्ति जिल्ला स्तरीय कार्यालयहरूसँग सहकार्य गरी सम्बन्धित निकायबाट अनुमति प्राप्त गर्ने ;
घ. वर्षाको पानी सङ्कलन र प्रयोग गर्नेे;
ङ. वातावरण संरक्षण र दिगो विकास कार्यक्रमका माध्यमबाट समुदायका मानिसहरूको जीवन स्तर उकास्ने;
BSP-Nepal ले निम्न कार्यहरू गर्दछ
अ. विभिन्न आकारका घरायसी, संस्थागत, सामुदायिक तथा व्यापारिक प्लान्ट निर्माण गर्ने
आ. सम्बर्द्धन र बजारीकरण
इ. अनुदानको प्रबन्ध/माध्यमीकरण
ई. गुणस्तर नियन्त्रण
उ. अनुगमन र मूल्याङ्कन
ऊ. अनुसन्धान र विकास
ऋ. तालिम
ऌ. तरलता व्यवस्थापन
ए. संस्थागत सहयोग/सशक्तीकरण
ऐ. कार्यक्रम व्यवस्थापन/प्रशासन
 

 

  Child Workers in Nepal Concerned Center (CWIN)
बाल अधिकार संरक्षण र बाल श्रम शोषणका विरुद्ध काम गर्नका लागि सन् १९८७ मा यस संस्थाको स्थापना भएको हो। बाल श्रमिक, सडक बालबालिका, बाल विवाह, बन्धक श्रमिका, बालबालिका बेचविखन, कानुन लडाइँ लडिरहेका बालबालिका र बालबालिकाको व्यावसायिक-यौन शोषण यस संस्थाका मुख्य चासोका विषय हुन्। बाल अधिकारको राष्ट्रिय पहरेदारका रूपमा CWIN ले देशमा बाल अधिकारको संरक्षण र सम्बर्द्धन तथा बालबालिकामाथि हुने सबै खाले शोषण, दुरुपयोग र विभेदका विरु लबिङ गर्ने, अभियान चलाउने र सरकारलाई दबाब दिने कार्य गर्दछ । जोखिममा रहेका बालबालिकाहरूको हितका लागि कार्य गर्ने संस्थाका रूपमा सिविनले सामाजीकीकरण, सहयोग र पुन:स्थापन जस्ता विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
 

 

  Committee for the Promotion of Public Awareness and Development Studies (COPPADES)
यो सन् १९९० मा स्थापना भएको ग्रामीण क्षेत्रमा आधारित गैरनाफामुखी, गैरसरकारी संस्था हो। यसको लक्ष्य महिला, अत्यन्तै गरिब तथा विभेदको सिकार भएका समूहका बिचमा सचेतना जगाउँदै उनीहरूलाई आर्थिक दृष्टिले आत्मनिर्भर बनाउनका लागि संस्थागत गतिविधि गर्नु हो।
यस संस्थाबाट सञ्चालित विभिन्न परियोजनाहरू यस प्रकार छन्।
  • गरिबी विरुद्ध वचत समूह/कार्यक्रम तय गर्नु
  • असल शासन परियोजनालाई सुदृढ पार्नु
  • सामाजिक तथा वातावरणीय प्रभाव न्यूनीकरण कार्यक्रम
  • आधारभूत कम्प्युटर र सूचना तथा सञ्चार प्रविधि परियोजना
  • सौर्य ऊर्जाबाट सञ्चालित अनलाइ शिक्षा परियोजनाको कार्यान्वयन
  • वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्र
  • समुदायले अगुवाइ गरेको जलवायु परिवर्तन अनुकूलन परियोजना
 

 

  Didibahini
मानिसहरूको जीवनस्तर सुधार्नका लागि दिदीबहिनी संस्थाले सन् १९९२ देखि नेपालमा कार्य गर्दै आएको छ। सहभागितामूलक शिक्षा पद्धतिका माध्यमबाट लैङ्गिक समानता हासिल गर्न यो संस्था प्रतिवद्ध रहेको छ। व्यवहार तथा धारणामा सकारात्मक परिवर्तन ल्याउनका लागि महिला तथा पुरुषहरूसँग सहकार्य गर्ने हुँदा संस्थालाई अनुपम र विशिष्ट किसिमको मान्ने गरिन्छ। लैङ्गिक शिक्षाका लागि यस संस्थाले प्रक्रियामुखी पद्धतिको अभ्यास गर्दछ। संस्थाको सहभागितामूलक अनुसन्धान पद्धतिले सुसूचित चयनका माध्यमबाट नेपाली महिला तथा पुरुषहरूले सामना गर्ने समस्याहरूमा परिवर्तन ल्याउने प्रयत्न गर्दछ। यस संस्थाले महिला मञ्च, युवा मञ्च तथा अनुसन्धान तथा सिकाइ केन्द्रहरूको निर्माण गरेको छ। संस्थाले सम्पन्न गरिसकेका परियोजनाहरू यी हुन्:
  • PEACE- समाजमा व्याप्त आन्तरिक तथा बाह्य द्वन्द्वको कारण पहिचान गर्नु
  • WPED- क्षमता निर्माण तालिम तथा कार्यामूलक अनुसन्धानका माध्यमबाट महिलाहरूलाई राजनीतिक रूपमा सशक्तीकरण गर्नका लागि सहजीकरण र पैरवी गर्नु
  • RWSS- गुणस्तरीय खानेपानी उपलब्ध गराउने, समुदायका मानिसहरूको कार्यभार घटाउने र पानी ल्याउनका लागि लाग्ने समय जोगाउन मदत गरेर मानिसहरूको स्वास्थ्य अवस्था सुधार गर्नु
  • WHEEL- उन्नत लैङ्गिक समानताका लागि योगदान गर्ने.
  • Gender in Politics- सङ्ख्यात्मक दृष्टिले मात्र होइन अर्थपूर्ण सहभागिताका दृष्टिले समेत राजनीतिमा लैङ्गिक समानता हासिल गर्ने
      Peace and Development- शान्ति र विकास- द्वन्द्वबाट आक्रान्त बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने (जोसँग केही अघिसम्म संस्थाले काम गरेको थियो).

  EcoHimal
यो संस्था नेपाल, तिब्बत र पाकिस्तानबीच पर्यावरणीय, आर्थिक, सामाजिक तथा सांस्कृतिक उद्देश्य प्राप्तिका लागि क्षेत्रीय विकास परियोजनाका माध्यमबाट स्थानीय जनतासँगको सहकार्यमा कार्यान्वयन गरिने सबै खाले सहयोगको जग हो। दीर्घकालीन रूपमा मानव जाति र प्रकृतिको अर्थपूर्ण सह-अस्तित्व सुनिश्चित गर्नका लागि गरिबीसँग सङ्घर्ष गर्नु र जैविक विविधताको संरक्षण गर्नु यसका प्रमुख कार्यहरू हुन् । सङ्कटग्रस्त पर्यावरण प्रणालीको संरक्षण यसको अर्को चुनौतिपूर्ण कार्य हो। त्यसकारण, संस्थाको लक्ष्य दीर्घकालीन रूपमा हिमाली क्षेत्रका बासिन्दाहरूको उच्चतर जीवनका लागि सहयोग गर्नु र आफ्नो क्षेत्रको विकासको जिम्मेवारी आफ्नै काँधमा लिनका लागि उनीहरूलाई सहयोग गर्नु हो।
 

 

  Enabling State Programme(ESP)-Nepal
जीवन स्तर सुधार गर्नका लागि २००१ को जनवरीमा यो संस्था प्रारम्भ भएको हो। नेपाली साझेदारहरूको संलग्नताका माध्यमबाट नेपालमा गरिब-मैत्री शासन व्यवस्था प्राप्त गर्नु यस संस्थाको लक्ष्य हो। संस्थाको समग्र उद्देश्य लोकतान्त्रिक तथा समावेशी शासन व्यवस्थाका लागि उपयुक्त वातावरण निर्माण गर्नु हो। संस्थाका विशिष्ट उद्देश्यहरू यस प्रकार छन्:
१. शासन व्यवस्थाका समस्याहरूका सम्बन्धमा उच्च सुझबुझको विकास गरी समाधान पहिचान गर्नु
२. गरिब-मैत्री शासन व्यवस्थाप्रति लक्षित नयाँ अभियानको सम्बर्द्धन गर्नु
३. शासन प्रणालीका मुख्य सुधारकहरूको पहिचान गरी तिनीहरूलाई प्रोत्साहन र सहयोग गर्नु
३. कार्यक्रममा गतिविधिहरू नेपाल सरकारले सावधिक योजना अन्तर्गत तय गरेका राष्ट्रिय नीति तथ कार्यक्रमबाट निर्देशित छन्।
 

 

  Health Net Nepal
क्षेत्रीय सूचना आदान प्रदान गर्ने अभियान अन्तर्गत सस्तो इन्टरनेट सेवा, स्वास्थ्यसम्बन्धी सूचनामा पहुँच तथा प्राविधिक सहायताका माध्यमबाट यस संस्थाले नेपालका स्वास्थ्य समुदायहरूको सेवा गर्दछ। सन् १९९८ मा यस संस्थाको स्थापना भएको हो। नेपालभरिका अनेक स्वास्थ्य संस्थाहरूलाई सूचनाको शक्ति र सञ्चार प्रविधिबारे र विशेषत: सञ्चारको सस्तो माध्यमका रूपमा इ-मेल र MEDLINE, छलफल समूह र समाचार समूहजस्ता विभिन्न स्रोतबाट सूचनामा पहुँच पुर्यातउने माध्यमहरूबारे जानकारी दिनु यस संस्थाको जिम्मेवारी हो। संस्थाका उद्देश्यहरू:
१. उपयुक्त, सहज र सस्तो सञ्चार प्रविधिमार्फत आपसमा जोडिएका मानिस तथा संस्थाहरूसँग जोडेर स्वास्थ व्यवसायीहरूको एक्लोपना समाप्त गर्नु
२. स्वास्थ्यसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाठ्यसामग्रीहरूसम्म पहुँच पुर्यागउनु
३. स्वास्थ्य सम्बन्धी सरल र सुबोध्य किसिमका सूचनाहरू उपलब्ध गराउनु
४. स्वास्थ्य कार्यकर्ता र स्वास्थ्यसम्बन्धी सूचनाका स्रोतहरूलाई संयोजन गर्ने लमीका रूपमा कार्य गर्नु
५. दूर शिक्षा तथा उपयुक्त सञ्चार प्रविधिका माध्यमबाट स्वास्थ सेवा विषयक ज्ञान र अनुसन्धानलाई पुनर्ताजगी गर्नु
 

 

  Himal Association a Kathmandu Valley
सन् १९८७ मा स्थापना भएपछि यो संस्था पत्रकारिता, सञ्चार, प्रकाशन, शिक्षा, चलचित्र महोत्सव आदि विषय लगायत सम्बन्धित अन्य क्रियाकलापमा निरन्तर सक्रिय हुँदै आएको छ। संस्थाले आफ्ना विभिन्न क्रियाकलापका माध्यमबाट बौद्धिक व्यक्तित्व र सर्वसाधारण जनताबीच सांस्कृतिक समझदारीको विकास गरी नेपाललाई स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा सचेत र बौद्धिक समाजका रूपमा विकास गर्ने मुख्य लक्ष्य लिएको छ।
 

 

  IHNURED International
यो मानव अधिकारको रक्षा गर्ने संस्था हो। यस संस्थाको प्रमुख कार्य जोखिममा रहेका महिला, बालबालिका, आदिवासी जनता, दलित लगाय समाजका अन्य सीमान्तीकृत समूहका मानिसहरूको मानव अधिकारका संरक्षण गर्नका लागि पैरवी गर्नु हो। त्यसैगरी शरणार्थी र अन्तर्राष्ट्रिय क्षेत्रबाट विस्थापित भएका मानिसहरूको सुरक्षा यस संस्थाले गर्ने महत्त्वपूर्ण कार्यहरूमध्ये एक हो।

  Informal Sector Service Centre (INSEC)
INSEC नामक संस्था डेढ दशक अघिदेखि मानव अधिकारको संरक्षण र सम्बर्द्धका क्षेत्रमा उत्साहपूर्वक संलग्न रहेको छ। सन् १९९८ मा यसको स्थापना भएको हो। अनौचारिक क्षेत्रमा संलग्न मानिसहरूको अधिकारको सुरक्षा गर्नु यस संस्थाको उद्देश्य हो।
 

 

  Institute of Human Rights Communication (IHRICON)
शिक्षा तथा पैरवीका माध्यमबाट राज्यका नागरिकहरूलाई अधिकारसम्पन्न बनाउनु यस संस्थाको लक्ष्य हो। यो संस्था महिला तथा बालबालिकाको अधिकार सुनिश्चित गर्ने दिशामा अग्रपंक्तिमा रहेको छ। अहिंसा, सहनशीलता, मानव अधिकारको सम्मान, शान्ति र लोकतन्त्रका लागि सञ्चार तथा विकास अन्तर्सम्बन्धित विषय हुन् र यिनीहरूले एक अर्कालाई बलियो बनाउँछन् भन्ने सन्देस दिनु यस संस्थाको उद्देश्य हो।
 

 

  Kathmandu Environmental Education Project (KEEP)
सन् १९९२ मा यस संस्थाको स्थापना भएको हो। पर्यटन व्यवसायले पार्ने नकारात्मक प्रभावहरूलाई घटाउँदै यसबाट हुने फाइदाहरूलाई बढाएर पर्यावरणीय र सांस्कृतिक सम्पन्नताका आधारमा नेपाल र नेपालीको समुज्ज्वल भविष्य सुनिश्चित गर्नु हो। उद्देश्यहरू:
  • नि:शुल्क र निष्पक्ष सूचना प्रवाह र तालिमका माध्यमबाट पर्यटक तथा पर्यटन व्यवसायीहरूलाई वातावरणीय र सांस्कृतिक शिक्षा प्रदान गरी दिगो पर्यटनको सम्बर्द्धन गर्नु
  • पर्यटन व्यवसायबाट हुने मुनाफालाई नेपाली जनताहरूका विच न्यायमूलक वितरण होस् भन्नका लागि स्थलगत परियोजना, तालिम र स्रोत-साधनका माध्यमबाट पर्यटन व्यवसायलाई दिगो र सशक्त बनाउनु
  • वातावरण र यससँग जोडिएका सामाजिक समस्याहरूका विषयमा अनुसन्धान तथा विकास कार्यक्रमहरू सञ्चालन गर्नु
 

 

  Language Technology Kendra (LTK)
मदन पुरस्कार पुस्तकालय; भाषाविज्ञान केन्द्रीय विभाग (त्रिभुवन विश्व विद्यालय); र कम्प्युटर साइन्स तथा इन्जिनियरिङ विभाग (काठमाडौं विश्वविद्यालय) जस्ता तीनवटा संस्थाहरूको सहकार्यमा Language Technology Kendra(LTK) क्रियाशील रहेको छ । सन् २००४ देखि विभिन्न भाषा प्रविधि परियोजनाहरूका माध्यमबाट यी तीनवटा संस्थाहरू सहकार्य गर्दै आएका छन्। PAN Localization Project, Bhasha Sanchar Project, Machine Translation Project, Dobhase, SAMBAD आदि सूचना तथा सञ्चार प्रविधिमा नेपाली भाषाको प्रयोगलाई सहज बनाउने उद्देश्यले संस्थाले सम्पन्न गरेका प्रमुख परियोजनाहरू हुन्।
 

 

  Legal Aid and Consultancy Centre (LACC)
महिलाहरूको मानव अधिकारलाई प्रोत्साहन गर्नका लागि सन् १९९८ मा यो संस्था दर्ता भएको हो। समाजमा अन्याय र दमनको सिकार भएका गरिब तथा सीमान्तीकृत महिलाहरूलाई नि:शुल्क कानुनी सहायता र सल्लाह उपलब्ध गराई कानुनसम्मको पहुँच सहज पार्नु यस संस्थाको उद्देश्य हो। संस्थाले कानुनी सहायता, लबिङ, पैरवी, क्षमता विकास, सचेतना वृद्धि र सशक्तीकरणका माध्यमबाट महिला तथा बालबालिकाका लागि न्यायमूलक, विभेदरहित तथा समानतामूलक समाजको निर्माण गर्ने लक्ष्य लिएको छ।

  Lutheran World Federation-Nepal (LWF Nepal)
सङ्कटकालीन स्थितिलाई तत्काल सम्बोधन गर्न, विपत्तिबाट हुने जोखिमको व्यवस्थापन, दिगो आजीविका र शान्ति र मेलमिलाप तथा मानवअधिकार जस्ता क्षेत्रमा सीमान्तीकृत र अवसरबाट वञ्चित समुदायमा काम गर्ने उद्देश्यले सन् १९८४ मा यस संस्थाको स्थापना भएको हो। यसले मानवतावादी र विकास लक्षित कार्यक्रमहरूको निर्माण र कार्यान्वयन गर्नका लागि सशक्तीकरण, मानव अधिकारमा आधारित, एकीकृत र सहभागितामूलक पद्धति ग्रहण गर्दछ।
 

 

  Maiti Nepal
घरेलु हिंसा, यौनजन्य क्रियाकलापमा संलग्न गराउनका लागि गरिने बेचबिखन, बाल वेश्यावृत्ति, बाल श्रम लगायत शोषण र यातनाका विविध स्वरूपबाट नेपाली बालिका तथा महिलाहरूको संरक्षण गर्ने अभियानका रूपमा सन् १९९३ मा यो संस्थाको स्थापना गरिएको हो। अपराध अनुसन्धान तथा अपराधीहरूका विरुद्ध कानुनी लडाइँ गर्दै कैयौं पीडित बालिका तथा महिलाहरूलाई न्याय दिलाउने कार्यमा समेत यो सामाजिक संस्था सक्रिय रहेको छ। संस्थाले महिला बेचबिखनको समस्याका सम्बन्धमा स्थानीय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म सशक्त रूपमा आवाज उठाउँदै आएको छ।
 

 

  Martin Chautari
यो सन् १९९१ मा स्थापना भएका अनुसन्धान तथा नीति-केन्द्री संस्था हो। पछि सन् २००२ मा यो दर्तावाल गैरसरकारी संस्था भयो। हाल लैङ्गिक समानता र समावेशीकरण जस्ता विषयहरूसहित लोकतन्त्र, सञ्चार तथा शिक्षा सम्बन्धी नीति र अनुसन्धानमा यो संस्था केन्द्रित रहेको छ। यसको प्राथमिक उद्देश्य सार्वजनिक विषयहरूलाई विस्तृत र समावेशी बनाउँदै सुसूचित संवाद, विश्लेषणात्मक दृष्टिले सशक्त अनुसन्धान र सम्भाव्य नीति छनौटसहित राज्य र नागरिकका बिचका सामाजिक सम्झौताहरूलाई मजबुत पार्नु हो।
 

 

  National Trust for Nature Conservation (NTNC)
नेपालमा प्रकृति संरक्षणका क्षेत्रमा कार्य गर्नका लागि सन् १९८२ मा यस संस्थाको स्थापना भएको हो। दुई दशकभन्दा बढी समयदेखि यस संस्थाले प्रकृति संरक्षण, जैविक विविधता, सांस्कृतिक सम्पदाको संरक्षण, पर्यावरणीय पर्यटन तथा दिगो विकास सम्बन्धी २०० भन्दा बढी साना ठुला परियोजनाहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ । संस्थाका कार्यक्रमहरू चितवन, बर्दिया, कन्चनपुर जस्ता तराईका जिल्लाहरूदेखि हिमालपारि माथिल्लो मुस्ताङ र मनाङ अन्नपूर्ण, मनासलु लगायका उच्च हिमाली क्षेत्र सम्म फैलिएका छन्।

हाल यस संस्थाका कार्यक्रमहरू तराई, मध्य पहाडी क्षेत्र (काठमाडौं उपत्यका) र उच्च हिमाली क्षेत्रमा फैलिएका छन्। संस्थाका तराई केन्द्रित कार्यक्रमहरू चितवनमा Biodiversity Conservation Center (BCC) मार्फत, बर्दियामा Bardia Conservation Program (BCP) मार्फत र कन्चनपुरमा Suklaphanta Conservation Program (SCP) मार्फत नेपालको मध्यमाञ्चल, पश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गतका चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा आसपासका क्षेत्रमा सञ्चालित छन् । त्यसैगरी, Annapurna Conservation Area Project (ACAP), the Manaslu Conservation Area Project (MCAP) र Gaurishankar Conservation Area Project (GCAP) संस्थाले व्यवस्थापन गरेका तीनवटा संरक्षण क्षेत्र हुन् । काठमाडौं उपत्यकामा सदर चिडियाखाना मात्र संस्थाको परियोजना अन्तर्गत रहेको छ। नयाँ थालनीका रूपमा संस्थाले जलवायु परिवर्तन सम्बन्धी उदियमान समस्यालाई सम्बोधन गर्नका लागि न्यूनीकरण तथा अनुकूलन पद्धति र पुनर्नवीकरणीय ऊर्जा प्रविधिका माध्यमबाट ऊर्जा र मौसम परिवर्न एकाइको स्थापना गरेको छ। वाग्मती नदी संरक्षण परियोजनासँग मिलेर यस संस्थाले सहरी वातावरण संरक्षणका क्षेत्रमा समेत कार्य गर्न थालेको छ।

 

 

  Nepal Australia Friendship Association (NAFA)
साना विकासे परियोजनाहरूका माध्यमबाट जनताका शारीरिक, सामाजिक, भावनात्मक तथा आर्थिक कल्याणका निम्ति कार्य गर्ने उद्देश्यले सन् १९८९ मा यस संस्थाको स्थापना भएको हो । सहयोग कार्यक्रमका उद्देश्यहरू निम्न छन्:
  • नेपालका ग्रामीण तथा ठुला सहरी क्षेत्रमा रहेका समुदायका मानिसहरूको शारीरिक, सामाजिक, भावनात्मक, तथा आर्थिक उन्नति गर्ने
  • समुदायमा आधारित परियोजनाहरूलाई आर्थिक सहायता प्रदान गर्ने
  • पूर्ण सहभागिताका लागि समुदायका सदस्यहरूलाई प्रोत्साहित गर्ने
  • सांस्कृतिक रूपले संवेदनशील तथा समुचित ढाँचाभित्र रहेर सहयोग प्रदान गर्ने
  • संस्थाका कार्यक्रमहरू सहरी तथा ग्रामीण क्षेत्रमा केन्द्रित भएको सुनिश्चित गर्ने
  • विकास सम्बन्धी परियोजनाहरूले समुदायका सबै सदस्यहरू (विशेषत: महिला तथा बालबालिका) लाई सहयोग गर्ने कुरा सुनिश्चित गर्ने
  • सबै परियोजनाहरू आत्मनिर्भर हुनुपर्ने

  Nepal Community Development Foundation
यस दर्तावाल परोपकारी संस्थाले सन् १९८९ देखि पूर्वी नेपालका विकासे परियोजनाहरूलाई सहयोग गर्दै आएको छ। नेपालका ग्रामीण क्षेत्रका हजारौं जनतामा खानेपानीको आपूर्ति, शिक्षा, स्वास्थ्यसेवा लगायत आशाको सञ्चार गराउने कार्यमा सहयोग गरेको छ।
 

 

  Nepal Forum of Environmental journalists (NEFEJ)
वातावरण पत्रकारिताको सम्बर्द्धनका लागि सन् १९८६ को जुन १ तारिकमा यस संस्थाको स्थापना गरिएको हो। त्यसैबेला देखि यस संस्थाले संवाद, अध्ययन, सार्वजनिक नीतिनियममा प्रभाव तथा वातावरण संरक्षण र दिगो विकासका लागि मञ्च उपलब्ध गराउँदै आएको छ। वातावरण संरक्षण, सचेतना निर्माण र दिगो विकासका लागि NEFEJ ले निरन्तर काम गरिरहेको रहेको छ। यस क्षेत्रमा संस्थाले हासिल गरेका सफलताका अनेक दृष्टान्तहरू छन्। वातावरण सम्बन्धी कानुन र अधिकारको निर्माण र संशोधनका लागि वातावरण निर्माण गर्न यस संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। त्यसबाहेक, उपयुक्त किसिमले राजधानीको फोहर व्यवस्थापन गर्ने विषयमा वकालत गर्न पनि संस्था सफल भएको छ। रेडियो सगरमाथा, सामुदायिक रेडियो सपोर्ट सेन्टर, मिडिया तालिम केन्द्र र श्रव्य-दृश्य विभाग जस्ता चारवटा प्रमुख विभागहरू मार्फत NEFEJ ले आफ्ना कार्यक्रमहरू सञ्चालन गर्दछ। 'आँखी झ्याल' NEFEJ ले हालसम्म प्राप्त गरेको सबैभन्दा ठूलो सफलता हो। यस संस्थाले वृत्तचित्र निर्माताहरूलाई प्राविधिक सहायता समेत उपलब्ध गराउँछ।
 

 

  Nepal Participatory Action Network (NEPAN)
सन् १९९५ मा यस संस्थाको स्थापना भएको हो। नेपालका गरिब तथा अवसरबाट वञ्चित मानिसहरू दिगो, समानतामूलक तथा मानवीय विकासका प्रमुख केन्द्र भएको अवस्थाको NEPAN परिकल्पना गर्दछ । अनुसन्धान, पैरवी, लबिङ तथा क्षमता विकास गतिविधिका माध्यमबाट मानिसहरूलाई सशक्त पार्नका लागि यस संस्थाले सहभागितामूलक विकासको अवधारणालाई सम्बर्द्धन र सहजीकरण गर्दछ। यसका प्रमुख गतिविधिहरू निम्नानुसार छन्:
  • सहभागितामूलक विकासका लागि आफ्ना सदस्यहरूको प्रयासमा सहयोगी र सम्पूरकको भूमिका निर्वाह गर्दै सहभागितामूलक कार्यका सिद्धान्तहरूको संबर्द्धन, पैरवी र अनुभवहरूको आदान प्रदानका लागि गोष्ठी, सम्मेलन, कार्यशाला र बैठकहरूको आयोजना गर्दछ ।
  • जनताको विकासमा उनीहरूकै सहभागिता सुनिश्चित गर्न आवश्यक पर्ने सीप र ज्ञानको विकास गर्नका लागि तालिम कार्यक्रम र कार्यशालाहरूको आयोजना गर्दछ।
  • सहभागितामूलक अवधारणाप्रतिको सुझबुझ र अभ्यासमा प्रगति गर्ने उद्देश्यले पद्धतिगत अनुसन्धान सम्पादन गर्दछ।
  • नियमित रूपमा सहभागितामूलक कार्य तथा विकाससँग सम्बन्धित समाचार, विचार तथा अनुभवहरूको प्रकाशन र प्रचार गर्दछ।
  • सहभागितामूलक विकासलाई सहजीकरण गर्नका लागि सल्लाह र आवश्यक सहयोग प्रदान गर्दछ।
  • अन्य समान प्रकृतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई आपसमा जोड्ने र तिनीहरूसँग सहकार्य गर्ने गर्दछ।
 

 

  Nepal School Projects
सन् १९७५ मा यसको स्थापना भएको हो। संस्थाको उद्देश्य नेपालका ग्रामीण क्षेत्रमा सञ्चालित विकासे कार्यक्रहरूका लागि रकम सङ्कलन गर्नु र उपलब्ध गराउनु हो। अवसरको कमी भएका दीनहीन जनताहरूलाई लाभान्वित पार्ने सामान्य परियोजनाहरूलाई यस संस्थाले विशेष महत्त्व दिन्छ।
 

 

  Nepal Wireless Project
यस संस्थाले तारविहीन प्रविधिका माध्यमबाट नेपालका दुर्गम गाउँहरूमा इन्टरनेट, विद्युतीय व्यापार, दूरौषधि लगायत अन्य सेवा उपलब्ध गराउँछ । सन् १९९६ मा महावीर पुनले विद्यालयको वेब साइट प्रयोग गरेर स्वयंसेवकहरूलाई आकर्षित गरी विद्यालयका लागि सामग्री जुटाउने काम गरे। सन् २००२ मा नाँगी र नजिकको अर्को गाउँ राम्चेलाई जोड्नका लागि Wi-Fi मा आधारित वायरलेस कनेक्टिभिटीको स्थापना गरिएको थियो। पाँच वर्षपछि नाँगी गाउँलाई इन्टरनेटमा पहुँच भएको सबैभन्दा नजिकको पोखरा बजारसँग जोड्न टोली सफल भयो।

  Open Learning Exchange Nepal (OLE Nepal)
प्रविधिलाई एकीकृत गरेर विद्यालयको पठन-पाठन सुदृढ गर्न र विभिन्न भौगोलिक क्षेत्रका र भिन्न सामाजिक-आर्थिक स्तर भएका मानिसहरूको गुणस्तरीय शैक्षिक सामग्रीहरूमा समान रूपमा पहुँच गराउनका लागि यो संस्था समर्पित छ। संस्थाले नि:शुल्क रूपमा पाठ्यवस्तुको विकास गर्ने, प्रविधिलाई कक्षाकोठामा प्रयोग गराउनका लागि शिक्षकहरूलाई तालिम दिने र प्रविधि र शिक्षामा स्थानीय क्षमताको विकासका लागि सहयोग प्रदान गर्ने गर्दछ। E-pustakalaya (http://olenepal.org/e-pustakalaya/) र E-path (http://olenepal.org/e-paath/) OLE ले निर्माण गरेका सर्वाधिक उपयोगी साधन हुन्। स्रोत-साधनको कमी भएका ग्रामीण क्षेत्रका विद्यालयहरूमा सम्भव हुने सक्ने सर्वश्रेष्ठ प्रविधिको उपयोग गर्नका लागि OLE Nepal निरन्तर प्रयासरत छ।
 

 

  Sancharika Samuha
यो सन् १९९६ को अप्रिल महिनामा सम्पन्न बेइजिङ सम्मेलनपछि स्वस्थ र लैङ्गिक दृष्टिले संवेदनशील सञ्चारमाध्यमलाई सम्बर्द्धन गर्ने उद्देश्यले स्थापना भएको महिला सञ्चारकर्मीहरूको मञ्च हो । 'सञ्चारिका समूह' स्थापना गर्नुको लक्ष्य नेपालमा लैङ्गिक समानता र समतामा आधारित विकासलाई सम्बर्द्धन गर्नका लागि सञ्चारका छापा माध्यम र विद्युतीय माध्यमको क्षमता बढाउनु हो। यस संस्थाले अनुसन्धान तथा सञ्चार अभियानका माध्यमबाट समानताका लागि वकालत गर्दछ। संस्थाका अभियान र पैरवी कार्यक्रमहरूले महिलाहरूलाई प्रत्यक्ष प्रभाव पार्दछ। सञ्चारिका समूहको प्रमुख उद्देश्य पत्रकारिताका क्षेत्रमा महिलाहरूको क्षमता विकास गर्ने लक्ष्य मुताबिकका कार्यक्रमहरूको निर्माण गर्नु हो। संस्थाका अन्य उद्देश्यहरू निम्नानुसार रहेका छन्:
  • समता र समानतामा आधारित विकासलाई सम्बर्द्धन गर्नका लागि सञ्चार माध्यमहरूको क्षमता बढाएर लैङ्गिक समानतामूलक समाजको निर्माण गर्ने
  • नेपाली सञ्चार माध्यमहरूमा महिला पत्रकारहरूको प्रतिनिधित्व बढाउने र व्यावसायिक सीप तथा सञ्चार माध्यमसम्मको पहुँच बढाई महिला पत्रकारहरूको क्षमतालाई सुदृढीकरण गर्ने
  • प्रेस स्वतन्त्रतालाई सुनिश्चित गर्ने
 

 

  Social Educational Environmental Development Services
गरिबी निवारणका लागि तल्लो तहमा कार्य गर्ने संस्थाहरूको क्षमता विकासका लागि यो संस्था सधैं क्रियाशील छ। राष्ट्रिय गैरसरकारी संस्थाका रूपमा यसले सन् १९९४ मा मात्र आधिकारिकता पाएको भए पनि सन् १९८५ देखि नै संस्थाले आफ्नो दृष्टिकोण अनुसार कार्य गर्न थालेको हो। एउटा राष्ट्रिय संस्थाका रूपमा मानवीय सम्भावनाको विकासको प्रयासका क्षेत्रमा अझै प्रत्यक्ष रूपमा योगदान गर्न सक्ने कुरामा संस्थाको दृढ विश्वास रहेको छ। यस संस्थाको उद्देश्य उपलब्ध मानव संसाधनलाई प्रयोग गरेर सीमान्तीकृत मानिसहरू निर्णय-कर्ताका तहमा पुग्ने अवसरहरूको सृजना गर्नु हो।
 

 

  South Asia Partnership International-Nepal
सन् १९९८ मा यस संस्थाको स्थापना भएको हो। समुदायसँगको साझेदारीमा शिक्षा, खानेपानी, स्वास्थ्य सेवा तथा वातावरणका क्षेत्रमा काम गर्ने सामान्य परियोजनाहरूलाई आर्थिक सहयोग प्रदान गरी सर्वसाधारण जनताको स्वास्थ्य सुधार र हित गर्ने कार्य गर्दछ । यस संस्थाले आर्थिक दृष्टिले सम्भाव्य, दिगो र सांस्कृतिक दृष्टिले संवेदनशील समस्याहरूको समाधान गर्दछ।