आफूसँग भएका साधन-स्रोतहरूको मात्र प्रयोग गरेर परम्परागत खेती गर्ने गरिन्छ अर्थात् जमिन, वर्षा, बिउबिजन र जोत्ने ढाँचाको प्रयोग गर्ने र प्राकृतिक किसिमले जे प्राप्त हुन्छ त्यसैलाई स्वीकार्ने गरिन्छ। जमिन जोत्न, विउबिजनको छनौट गर्न, रोप्न, अन्य झारपात तथा जनवारहरूबाट जोगाउन र बाली थन्क्याउन परम्परागत प्रणालीको प्रयोग गरिन्छ। यस्तो प्रणालीमा मुख्यतया जमिनको प्राकृतिक उत्पादन शक्ति, राम्रो हेरचाह तथा हावापानीमै उत्पादकत्व भर पर्दछ।परम्परागत खेती प्रणालीका प्रारम्भमा उत्पादकत्व कम हुन्छ किनभने किसानहरू बजार तथा बाह्य लगानीकर्ताहरूको पहुँच भन्दा टाढा हुन्छन्। तर बजार तथा बाह्य लगानीकर्ताहरूसँगको पहुँच बढ्दै गएपछि क्रमश: उत्पादन बढ्दै जान्छ।

परम्परागत खेतीका फाइदाहरू :

  • प्राकृतिक तथा स्वस्थकर हुन्छ।
  • विभिन्न खालका बालीहरू लगाउन सकिने हुँदा जमिन भरिभराउ रहन्छ।
  • एउटै मुख्य बालीमा भर गर्नु पर्दैन।
  • धेरै श्रम गर्नुपर्ने हुँदा सोही अनुपातमा धेरै मानिसले काम पाउँछन्।
  • उत्पादन कम भए पनि जेजति उत्पादन हुन्छ त्यो गुणस्तरीय हुन्छ।


परम्परागत खेतीका बेफाइदाहरू:

  • कीटनाशक विषादीहरूको प्रयोग नगरिने हुँदा बालीनालीमा रोग लाग्ने सम्भावना पनि बढी हुन्छ।
  • जमिनलाई उत्पादनशील बनाउने वस्तु तथा प्रविधिको प्रयोग नगरिने हुँदा उत्पादन लागत बढ्छ।
  • वर्षामा भर पर्नुपर्ने भएकाले सुख्खा लाग्ने सम्भावना पनि त्यत्तिकै हुन्छ।
  • उत्पादन कम हुन्छ।

नेपालको सन्दर्भमा बहुसङ्ख्यक कृषकहरू अझै पनि जोत्नका लागि गोरू वा राँगाको प्रयोग गर्ने; गोबर मलको प्रयोग गर्ने, पुरानो बिउबिजन रोप्ने तथा स्थानीय श्रमिकहरूको प्रयोग गर्ने जस्ता परम्परागत खेती प्रणालीको प्रयोग गर्दछन् । कृषिका आधुनिक उपकरणहरूको प्रयोग नगरिने हुँदा लगभग २५% जमिन बाँझै रहन्छ। नेपालको कृषि मौसमी तथा प्राकृतिक हावापानीमा निर्भर रहेको छ। सामान्यतया नेपालको मुख्य कृषि धान तथा गहुँको चक्रीय उत्पादन हो, जसलाई खडेरी, अत्यधिक वर्षा, बिउबिजन तथा श्रमशक्तिको अभावजस्ता कुराले असर पारिरहेका हुन्छन् । कमसल तथा भिरालो जमिनका कारण उत्पादन कम हुने हुँदा पहाडी तथा हिमाली क्षेत्रको अवस्था अझै नाजुक छ । नेपालको परम्परागत खेती प्रणालीमा स्थानीय बिउ बिजन तथा मलखादको मात्रै प्रयोग हुने गरेको छ। तैपनि केही दशक अघिदेखि नेपाल सरकारले उत्पादन बढाउने उद्देश्यले विकासे बिउबिजन तथा रासायनिक मल भित्र्याउन थालेको छ। यति हुँदाहुँदै पनि नेपालमा प्रयोग गरिने रासायनिक मल तथा विषादीहरू निकै जोखिमयुक्त छन् जसका कारण उत्पादनमा वृद्धि भए पनि जमिनको उत्पादकत्वमा प्रतिकूल प्रभाव पर्दछ।आधुनिक खेती प्रणालीको विकास नभएका कारण नेपालमा कृषि व्यवसायलाई कहिल्यै उद्योगको मान्यता दिइएको थिएन।