आजकल अन्न तथा तरकारीजन्य कृषि प्रणालीमा आधुनिक प्रविधि तथा सूचना प्रणालीको प्रयोग गर्न थालिएको छ। आधुनिक खेतीमा कृषकहरूको भूमिका महत्त्वपूर्ण बन्दै गएको छ। आधुनिक खेती प्रणालीले कृषियोग्य भूमिको उत्पादकत्व बढाएको छ। आधुनिक प्रणाली अन्तर्गत आधुनिक मेसिन तथा प्रविधिको प्रयोग गरिने हुँदा यसबाट भूक्षयमा कमी, खडेरी, किरा लाग्ने, विभिन्न रोग लाग्ने र अन्य हानी नोक्सानी हुनबाट जोगाउनुका साथै जमिनको उत्पादकत्व बढाउन मदत पुगेको छ। बालीनाली तथा पशुपालनसम्बन्धी आधुनिक तथा उन्नत प्रजनन प्रक्रियाको प्रयोग गर्नाले उत्पादन, गुणस्तर र विश्वसनीयतामा वृद्धि गर्दछ । द्रूत र प्रभावकारी सिँचाइ, बाली भित्र्याउने प्रक्रिया, उपकरणहरूको सञ्चालन तथा भण्डारणका उपयुक्त माध्यम र बजारसम्मको सुलभ पहुँच आधुनिक खेती प्रणालीका विशेषताहरू हुन्।
आज विश्वमा कृषिलाई प्राथमिकता दिइनुको कारण जीवन यापनका लागि कृषिको अपरिहार्यता मात्र नभएर दिगोपनामा यसको महत्त्व भएकाले पनि हो। एकातिर उत्पादनको परिणाको कुरा छ भने अर्कातिर नयाँ नयाँ कृषिजन्य उत्पादनको गुणात्मकताको प्रश्न छ। विकासे बिउबिजन, कीटनाशक विषादी तथा रासायनिक मलको उत्पादनमा वैज्ञानिक तथा आधुनिक प्रविधिको प्रयोग गरिएका कारण कृषिको उत्पादकत्व बढेको छ; जुन आफैंमा राम्रो कुरा हो । तैपनि परम्परागत किसिमले उत्पादन गरिएका खाद्यवस्तुका तुलनामा आधुनिक प्रणालीबाट उत्पादित खाद्यवस्तुको पौष्टिकता कम हुन्छ। रासायनिक मल तथा कीटनाशक विषादीका कारण उत्पन्न यस्ता समस्याहरूले जमिनको उत्पादन शक्ति र उपभोक्ताको स्वास्थमा दीर्घकालीन असर गर्दछन्।कतिपय रासायनिक मलहरूले पर्यावरण-चक्रमा समेत अवरोध सृजना गर्छन्।त्यसबाहेक, जैविक-प्रविधिको विकासले बिउबिजनको उत्पादन तथा विकासमा योगदान पुर्‍याएको हुँदा मकै, धान, गहुँजस्ता खाद्यान्नहरूको उत्पादन बढेको छ।

आधुनिक खेतीका फाइदाहरू:

  • उत्पादन छिटो हुने हुँदा कृषकहरूलाई लाभान्वित हुन्छन्।
  • कीटाणुनाशन, झारनाशक, ढुसीनाशक विषादी तथा जीव-प्राविधिक उत्पादनहरूका सहायताले बालीनालीको संरक्षण गरिने हुँदा हजारौंको सङ्ख्यामा झारपात, हानीकारक किरा तथा हानीकारक रोगहरूलाई नियन्त्रण गर्न सकिन्छ।
  • अत्यधिक उत्पादनका लागि माटाको परीक्षण गरी कस्तो बिउबिजनको प्रयोग गर्ने र कसरी उत्पादन बढाउने भन्ने कुराको निर्क्यौल गरी जमिनका लागि आवश्यक पोषण तत्त्वको प्रयोग गर्न सकिन्छ।
  • कृषिजन्य वस्तुमा लगानी तथा उत्पादनको हिसाब किताब राख्नका लागि वैज्ञानिक तथ्याङ्क र आधुनिक प्रविधिको प्रयोग गर्न सकिन्छ।
  • भण्डारण तथा यातायातका लागि आधुनिक प्रविधिको प्रयोग गरिने हुँदा क्षति कम हुन्छ।
  • जमिन जोत्न, सम्याउन, केलाउन, भित्र्याउन, विषादी छर्न र सिँचाइ गर्न आधुनिक यन्त्रहरूको प्रयोग गरिने हुँदा श्रमशक्ति कम लाग्दछ।

आधुनिक खेतीका बेफाइदाहरू:

  • रासायनिक मल तथा कीटाणुनाशक विषादीले प्रयोगकर्ता कामदारहरूको स्वास्थ्यमा प्रतिकूल असर गर्नुका साथै उपभोक्ताहरूलाई समेत असर पुर्‍याउँछ।
  • रासायनिक मलको अव्यवस्थित प्रयोग गर्नाले मित्रजीव समेत मार्ने हुँदा बालीनालीलाई समेत नोक्सान पुर्‍याउँछ।
  • कतिपय जङ्गली जीवजन्तुहरूको प्राकृतिक वासस्थानमा असन्तुलन पैदा गर्नुका साथै भूक्षयको कारण बन्दछ।

नेपालमा कृषिको विकासका लागि आधुनिक खेती प्रणाली लागु गरिएको छ । विगतमा किसानहरू धेरै मेहनत गरेर पनि आफ्नो जीवनस्तरमा सुधार गर्न नसकेका कारण दयनीय जीवन बाँच्ने गर्दथे । विगत ३५ वर्षदेखि नेपाली किसानहरूले पनि उत्पादन बढाउनका लागि रासायनिक मलखाद तथा कीटाणु नाशक विषादीको प्रयोग गर्न थालेका छन्।तैपनि, नेपालमा अझै यस्ता ठाउँहरू छन् जहाँ यातायातको सुविधा नभएका कारण रासायनिक वस्तुहरू पुर्‍याउन सकिएको छैन।तसर्थ, यस्ता ठाउँहरूमा अजैविक कृषि उत्पादन अभ्यासका बेफाइदा र हानी नोक्सानीबारे सचेतना कार्यक्रम सञ्चालन गर्न सकिन्छ।
अजैविक कृषि प्रणाली अपनाउँदा जमिनको उत्पादकत्वमा ह्रास आउनुका साथै उत्पादित खाद्यान्न समेत दूषित हुन्छ।रासायनिक मलको प्रयोगले उत्पादन त बढ्छ तर खाद्यान्नको गुणात्मकता घट्नुका साथै यसले प्रदान गर्ने पोषक तत्त्वमा पनि कमी आउँछ।त्यसैगरी खेतीपातीमा प्रयोग हुने रासायनिक पदार्थले हामीले दैनिक उपभोग गर्ने खाद्यान्नको गुणस्तरीयता घटाउँछ। रासायनिक मल तथा कीटनाशक विषादी सबै खाले कृषिजन्य उत्पादनहरू दूषित तथा अस्वस्थकर बन्दै गएका छन्। यसका साथै यस्ता खालका रासायनिक तत्त्वहरूको प्रयोग गर्दा पर्यावरण समेत असन्तुलित बन्न पुग्दछ। मौसम परिवर्तन तथा विश्वव्यापी तापमानमा यसले प्रत्यक्ष प्रभाव पार्दछ। जैविक खाद्यपदार्थहरू बढी स्वस्थकर, कम प्रदूषित र प्राकृतिक हुन्छन् । गुणस्तरीय हुने हुँदा जैविक उत्पादनहरू महङ्गा भने हुन्छन्।

उदाहरणहरू:
राप्ती आधुनिक कृषि फार्मले एउटा पशुपालन फार्म स्थापना गरेको छ।साना किसानहरूलाई केन्द्रविन्दुमा राखिएको र १९०० बिघा जग्गामा विस्तारित यो फार्म फूलबारी गा.वि.स. वडा नं. १ मा रहेको छ।यस फार्ममा १४ जना युवा कृषि उद्यमीहरू संलग्न रहेका छन्।