परिचय
दूध, मासु, अन्डा, उन, श्रम आदिका लागि जनावरहरूलाई घरमा पाल्ने कामलाई पशुपालन भनिन्छ। मानिसहरूलाई कृषि पेशामा आकर्षित गर्न, जमिनको उर्वराशक्ति बढाउन र मल खादका रूपमा जनावरहरूको बिस्टा प्रयोग गर्ने उद्देश्यले पनि पशुपालन गरिन्छ। पहाडी तथा हिमाली प्रदेशहरूमा भारी बोक्नका लागि चौँरी, गधा, खच्चड, भेडा र बाख्राहरूको प्रयोग गरिन्छ। तराईमा गोरु तथा राँगाहरूलाई गाडा तान्ने काममा प्रयोग गरिन्छ। दूध तथा दूधजन्य उत्पादन, मासु र अन्डा प्रोटिनका भरपर्दा स्रोत पनि हुन्। यस्ता वस्तुहरूले कृषकहरूको आय वृद्धि गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन्।
पशुपालन व्यवसाय नेपालको कृषि क्षेत्रको महत्त्वपूर्ण उप-क्षेत्र हो। केन्द्रीय तथ्याङ्क विभाग (२०११) अनुसार पशुपालनले कृषिजन्य कुल गार्हस्थ्य उत्पादनको ३२% र देशको कुल गार्हस्थ्य उत्पादनको ११.५% ओगट्छ। धेरै मानिसहरू पशुपालन गर्ने, मासु काट्ने, बजारसम्म पुर्या उने र बेच्ने जस्ता पशुजन्य व्यवसायमा संलग्न रहेका छन्। २० लाख भन्दा बढी घरपरिवारहरूले पशुपालन गरेका छन् भने १४ लाख घरपरिवारले कुखुरा पाल्ने गरेका छन्।
पशुपालनको वृद्धि दर माछा पालन र नगदे बाली भन्दा कम भए पनि कुल कृषि गार्हस्थ्य उत्पादनमा माछा पालन तथा नगदे बालीको भन्दा पशुपालनको योगदान बढी छ। कृषि विकास मन्त्रालयबाट सन् २०११/०१२ मा प्रकाशित तथ्याङ्क अनुसार पशुपालनमा वार्षिक ५.३% वृद्धि हुँदै गएको छ। गाईगोरु, भेडा, भाले हाँस तथा पोथी हाँसका तुलनामा राँगा, सुँगुर, माउ भैंसी तथा कुखुराको वृद्धि दर निकै बढी रहेको छ।

पशुधन

क.   गाइगोरु
नेपालमा सामान ढुवानी गर्ने कामका लागि गोरु र मलखादका लागि गाई/गोरू प्रमुख स्रोत रहेका देखिन्छन्। पशुपालनका क्षेत्रमा गाई/गोरूले प्रमुख स्थान ओगटेको पाइन्छ। तर अन्य पशुहरूका तुलनामा गाई/गोरूको वार्षिक वृद्धि दर अत्यन्तै कम (लगभग शून्यप्राय) रहेको छ। कृषि विकास मन्त्रालयको सन् २०११/०१२ को तथ्याङ्क यस्तो छ:
सन् २०११/०१२ मा गाईगोरू पालनको कुल सङ्ख्या ७२,४४,९४४ र वार्षिक वृद्धि दर ०.४२% रहेको देखिन्छ।
 
ख.    भैंसी
भैंसी दूध तथा मासुको प्रमुख स्रोत हो। जमिनको उर्वरा शक्ति बढाउने मल खादका रूपमा पनि भैंसीको बिस्टा उपयोगी हुन्छ। सङ्ख्यात्मक दृष्टिले भैंसी पालन दोस्रो स्थानमा आउने भए पनि आर्थिक दृष्टिले गाईपालन भन्दा भैंसी पालन व्यवसाय बढी लाभदायक रहेको छ। कृषि विकास मन्त्रालयबाट सन् २०११/०१२ मा प्रकाशित तथ्याङ्क अनुसार,
सन् २०११/०१२ मा भैँसीको कुल सङ्ख्या ५१,३३,१३९ थियो भने वार्षिक वृद्धि दर ३.३६% रहेको थियो।
भैंसीको दूध लगभग ११,५३,८३८ मेट्रिक टन उत्पादन भएको देखिन्छ भने ३.८% वार्षिक वृद्धिदर (सन् २०११/०१२) रहेको देखिन्छ।
त्यसैगरी यसै आर्थिक वर्षमा १,७२,४१४ मेट्रिक टन भैंसीको मासु उत्पादन भएको र वार्षिक वृद्धि दर ३.२% रहेको देखिन्छ।
 
ग.   लैनो गाई
नेपालमा दूध उत्पादनका लागि मात्र गाईपालन गरिन्छ। राष्ट्रिय जनावर भएको हुँदा नेपालमा मासुका लागि गाईको प्रयोग हुँदैन। कृषि विकास मन्त्रालयबाट सन् २०११/०१२ मा प्रकाशित तथ्याङ्क अनुसार,
सन् २०११/०१२ मा नेपालमा लैना गाईको सङ्ख्या ९,९८,९६० र वार्षिक वृद्धि दर १.८% रहेको देखिन्छ।
सन् २०११/०१२ गाईको दूध ४,६८,९१३ मेट्रिक टन उत्पादन भएको थियो भने वार्षिक वृद्धि दर ३% रहेको थियो।
 
घ.   भेडा
अन्य जनावरका मासुका तुलनामा भेडाको मासु खाने प्रवृत्ति बढ्दै गएकाले भेडाको वार्षिक वृद्धि दरमा नकारात्मक प्रभाव परेको देखिन्छ। कृषि विकास मन्त्रालयबाट सन् २०११/०१२ मा प्रकाशित तथ्याङ्क अनुसार,
सन् २०११/१२ मा नेपालमा ८,०७,२६७ वटा भेडाहरू थिए भने वार्षिक वृद्धि दर -०.२५% रहेको थियो।
त्यस्तै सन् २०११/१२ मा २७२० मेट्रिक टन मासु उत्पादन भएको थियो भने -२.५८% वार्षिक वृद्धि दर रहेको थियो।
 
ङ.   खसी/बाख्रा
नेपालमा लोकप्रियताका दृष्टिले खसीको मासु दोस्रो स्थानमा आउँछ। बाख्राले दूध समेत दिने भए पनि नेपालमा बाख्राको दूध त्यति लोकप्रिय छैन। कृषि विकास मन्त्रालयबाट सन् २०११/०१२ मा प्रकाशित खसी/बाख्रा पालन सम्बन्धी तथ्याङ्क यस्तो छ:
सन् २०११/०१२ मा नेपालमा ९५,१२,९५८ वटा खसी/बाख्रा थिए। वार्षिक वृद्धि दर ४% थियो जुन अन्य पशुहरूका तुलनामा निकै राम्रो हो।
यसै वर्ष ५३,९५६ मेट्रिक टन मासु उत्पादन भएको थियो भने वार्षिक वृद्धि दर ३.६ % रहेको थियो।
 
च.   सुँगुर
सुँगुर पनि नेपालको प्रमुख घरपालुवा जनावर हो। नेपालमा मासु खानका लागि सुँगुर पाल्ने गरिन्छ। कृषि विकास मन्त्रालयबाट सन् २०११/०१२ मा प्रकाशित सुँगुर पालन सम्बन्धी तथ्याङ्क यस्तो छ:
सन् २०११/०१२ मा सुँगुरको सङ्ख्या लगभग ११,३७,४८९ अर्थात् बाख्राको सङ्ख्याको आठ भागको एक भाग मात्र रहेको देखिन्छ भने वार्षिक वृद्धि दर २.२% रहेको देखिन्छ।
सुँगुरको मासुको कुल उत्पादन १८, २७७ मेट्रिक टन र वार्षिक वृद्धि दर १.७% रहेको छ।
 
छ.   कुखुरा
लोकप्रियताका दृष्टिले नेपालमा कुखुराको मासु तेस्रो स्थानमा पर्दछ। अन्य मासुका तुलनामा बढी स्वस्थकर तथा सस्तो समेत हुने भएकाले कुखुराको मासु बढी लोकप्रिय भएको हो। कृषि विकास मन्त्रालयबाट सन् २०११/०१२ मा प्रकाशित तथ्याङ्क अनुसार,
सन् २०११/०१२ मा कुखुराको सङ्ख्या ४,५१,७१,१८५ रहेको देखिन्छ भने वार्षिक वृद्धि दर पनि अत्यन्तै राम्रो (१०.३%) रहेको देखिन्छ।
अन्डा पार्ने पोथी कुखुराको सङ्ख्या ७९,०७,४६८ र वार्षिक वृद्धि दर लगभग २% रहेको देखिन्छ।
सन् २०११/०१२ मा ४०,३४६ मेट्रिक टन कुखुराको मासु उत्पादन भएको देखिन्छ। यो कुल मासु उत्पादनमा तेस्रो स्थानको मान भए पनि मासुका अन्य स्रोतका तुलनामा कुखुराको वृद्धि दर निकै उच्च (वार्षिक१७.३%) रहेको छ।
त्यसैगरी सन् २०११/०१२ मा ४.६%को उच्च वृद्धि दरसहित ७८,८३,१०,००० वटा अन्डा उत्पादन भएको देखिन्छ ।
 
ज.   हाँस
नेपालमा मासुका लागि हाँस पालन पनि गरिन्छ तर मासुका लागि पालिने अन्य पशुपक्षीका तुलनामा हाँस पालन कम लोकप्रिय हुँदै गएको छ। कृषि विकास मन्त्रालयको २०११/०१२ को हाँस पालन सम्बन्धी आकडा निम्नानुसार रहेको छ।
सन् २०११/०१२ मा नेपालमा हाँसको कुल सङ्ख्या ३,७६,९१६ रहेको देखिन्छ। तर दिनहुँ यो सङ्ख्या घट्दै गएको छ। हाँसको वार्षिक वृद्धि दर (-०.८%) नकारात्मक छ।
सन् २०११/०१२ मा २१७ मेट्रिक टन हाँसको मासु उत्पादन भएको थियो। दस वर्ष अघिको उत्पादनका तुलनामा यो निकै कम हो। हाँसको मासुको वार्षिक उत्पादन -२% अर्थात् नकारात्मक रूपले बढ्दै गएको देखिन्छ।
सन् २०११/०१२ मा अन्डा पार्ने हाँसको सङ्ख्या १,७४,९७८ र -१.८% नकारात्मक वृद्धि दर रहेको देखिन्छ ।
सन् २०११/०१२ मा १,३०,६०,००० वटा अन्डाको उत्पादन भएको थियो। अन्डा उत्पादकनको वार्षिक वृद्धि दर पनि नकारात्मक (-१.६५%) रहेको छ।
 
झ.   ऊनी
नेपालका पहाडी तथा हिमाली क्षेत्रमा ऊन उत्पादन गर्न सक्ने पशुहरूको पालन गरिन्छ। तर मानिसहरू अन्य किसिमका पशुपालनतिर समेत आकर्षित भएकाले ऊनको उत्पादन घट्दै गएको छ। कृषि विकास मन्त्रालयको २०११/०१२ को ऊन उत्पादन सम्बन्धी आँकडा यस्तो छ:
सन् २०११/०१२ मा लगभग ५,८७,०१७ मेट्रिक टन ऊन उत्पादन भएको थियो। यो दश वर्ष अघि भएको उत्पादनभन्दा कम हो। उनको वार्षिक उत्पादन नकारात्मक रूपमा बढ्दै गएको (-०.२%) रहेको छ।