चिया बोटका पातबाट बन्ने पेय पदार्थ हो। नेपालमा फलको स्वाद आउने खालको चिया उत्पादन हुन्छ। पूर्वी नेपाल र दार्जिलिङको भौगोलिक तथा स्थलाकृतिगत अवस्था समान भएकाले नेपालको चिया पनि हेर्दा, सुँघ्दा र खाँदा दार्जिलिङको चियाजस्तै हुन्छ । नेपालमा उत्पादित चियालाई दुई वर्गमा बाँड्ने गरिन्छ:

अ.   अर्थोडक्स चिया
यस प्रकारको चियालाई हातैले तयार गरिन्छ अथवा हातले जसरी तयार गरिन्छ त्यही प्रक्रियाबाट मेसिनमा प्रशोधन गरिन्छ। ग्रीन टि, ऊलोङ टि र ह्वाइट टि अर्थोडक्स चियाका उदाहरण हुन्। नेपालका समुद्री सतहभन्दा ३००० देखि ७००० फिट उचाइका हिमाली क्षेत्रमा अर्थोडक्स चियाको उत्पादन र प्रशोधन गरिन्छ। खासगरी नेपालका इलाम, पाँचथर, धनकुटा, तेर्ह थुम, सिन्धुपाल्चोक तथा कास्की जिल्लामा अर्थोडक्स चियाको उत्पादन हुन्छ।
आ.   सि.टि.सि (क्रस, टियर, कर्ल) चिया
यस प्रकारको चिया क्रस, टियर र कर्लजस्ता तीन चरणमा प्रशोधन गरिन्छ। नेपालको कम उचाइको न्यानो, र चिस्यानयुक्त उर्वर तराई भूमि (खासगरी झापा जिल्ला) मा सि.टि.सि. चियाको उत्पादन गरिन्छ। कुल गार्हस्थ्य उपभोगको ९५% भाग सि.टि.सि. चियाले ओगटेको देखिन्छ। यस्तो चियाको उत्पादन लागत अर्थोडक्ड चियाको उत्पादन लागतका तुलनामा निकै कम हुन्छ।

हावापानी
तातोपना र चिस्यानको सन्तुलित स्थिति चिया खेतीका लागि उपयुक्त हुन्छ। मौसमले चियाको उत्पादन, गुणस्तर र बाली वितरणमा प्रभाव पार्दछ । पानी राम्ररी पटाउन मिल्ने उचाइमा रहेको उर्वर तथा अम्लीय माटामा चिया खेती फस्टाउँछ। पानी पटाउन सजिलो हुने हुँदा भिरालो पहाडी जमिनमा चिया लगाउने गरिन्छ। माटाको अम्लीय pH ४.५ देखि ५.५ सम्म हुनुपर्छ भने २% जैविक तत्त्व अपेक्षित हुन्छ। सामान्यतया भिन्न भिन्न किसिमको हावापानी भएका ठाउँमा चिया खेती गर्न सकिन्छ तर वर्षा, घाम, तापक्रम, सापेक्षिक आर्द्रता र हावाजस्ता बाह्य तत्त्वले यसको स्तर निर्धारण गर्ने गर्दछन्।

बिरुवा उमार्ने ठाउँ

चियाका दानाबाट उम्रने बिरुवाबाट चियाका बोट बन्दछन्। चियाका प्रत्येक बोटमा फल लाग्छन् र तिनै फलका बिजनबाट ५० फिट सम्मका बोट बन्दछन्। ती बोटबाट कलमी गरेर बिरुवा बनाइन्छ। ठुला बोटहरूलाई बिरुवा विस्तारका लागि छानिन्छ। पोलिथिनका पोकामा माटो भरेर कलमी बिरुवा रोपिन्छ। कलिला बिरुवाहरूलाई हावाबाट जोगाउनका लागि झारपातको छहारीमा राखिन्छ भने पानी पटाउनका लागि ससाना खाडल खनेर पानी जम्मा गरिन्छ। बिरूवाहरू ९ देखि १२ महिनाका भएपछि चिया बगानमा सार्नका लागि ती तयार हुन्छन्। रोग नसरोस् र जमिन सकेसम्म उर्वर होस् भन्नका लागि निकै सावधानीपूर्वक बिरुवा सार्ने ठाउँ तयार गर्नुपर्छ।

रोपाइ

त्यसपछि बिरुवा घरमा तयार गरिएका बिरुवाहरूलाई चिया बारीमा सारिन्छ। बिरुवा रोपिसकेपछि माटाले खाल्डा पुर्नुपर्छ र हातले वा औजारको प्रयोग गरेर जमिन सम्याउनुपर्छ। जमिन सम्याइसकेपछि नाला खनिन्छ र त्यस ठाउँलाई कम्तीमा दुई वर्ष पुन:स्थापन क्षेत्रका रूपमा राख्नुपर्छ। ३ देखि ५ फिटको अन्तर पारेर बिरुवाहरू रोप्नुपर्छ। चियाका बोटलाई स्वस्थ अवस्थामा हुर्काउनका लागि कृत्रिम रासायनिक मल वा गोबरमलको आवश्यकता हुन्छ। चियाको विस्तारका लागि जमिनको स्वस्थ अवस्था कायम राख्नु अत्यावश्यक हुन्छ। यसरी रोपिएका बिरुवाबाट चियापत्ती उत्पादन हुनका लागि जमिनको उचाइ र हावापानीको अवस्था अनुसार २ देखि ३ वर्ष लाग्दछ।

छाया र छाया वृक्ष

चियाको बोटहरूलाई स्वस्थ र उत्पादक बनाउनका लागि कोसे जातका प्रशस्त रूखहरू रोपेर उपयुक्त छहारी दिनु आवश्यक हुन्छ। छायाले चियाका बोटलाई सूर्यको अत्यधिक ताप र प्रकाशका किरणबाट जोगाउँछ भने रूखबाट झर्ने पातले जैविक तत्त्वको आपूर्ति गर्दछन्।

मलखाद

यदि N र K रासायनिक मल प्रति हेक्टर १०० केजी भन्दा बढी मात्रामा प्रयोग गरिन्छ भने आधा आधा गरेर दुई पटक प्रयोग गर्न सिफारिस गरिन्छ। यस्तो मलको ६०% मार्च-अप्रैल (पहिलो पटक) मा र बाँकी ४०% दोस्रो पटक (अगस्त-सेप्टेम्बर) मा प्रयोग गर्नुपर्छ। प्रति हेक्टर २ के.जी.का दरले सल्फरको प्रयोग गर्नुपर्छ। वर्षमा एक पटक प्रति हेक्टर १२.५ के.जी. जिङ्क सल्फेटको प्रयोग गर्नुपर्छ जुन मार्च महिनाको सुरुमा एक पटक र सेप्टेम्बरभन्दा पछि ३ देखि तीनपटक गरेर ४ देखि छ पटक सम्म छ्याप्नुपर्छ।

छिमलाइ

जब बोटको उचाइ जमिनमाथि आधामिटरको हुन्छ तिनीहरूलाई जमिनभन्दा केही इन्च माथि काटिन्छ र झाङ्गिने वातावरणको सृजना गरिन्छ। राम्ररी फस्टाएको चियाको बोटको उचाइ एक मिटर भएपछि कम उचाइ भएका ठाउँमा १ देखि २ वर्षसम्म र बढी उचाइ भएका ठाउँमा ३ देखि ५ वर्षसम्म छिमल्ने गरिन्छ। छिमल्ने समयको निर्धारण पनि वर्षाका आधारमा गरिन्छ किनभने छिमल्ने समयमा जमिनमा पर्याप्त चिस्यान हुनुपर्दछ।

   चियाका पालुवा राम्ररी बढाउनका लागि:
नयाँ पालुवा (मुना) पलाऊन् भनेर चियाका बुट्टाहरूलाई छिमल्ने गर्नुपर्छ। नियमित रूपमा छिमल्ने गर्नाले पनि फूल फुल्न र फल लाग्न वाधा। छिमलेपछि बोट झाङ्गिने हुँदा प्रत्येक बोटबाट बढी मात्रामा चिया पत्ति प्राप्त गर्न सकिन्छ।
   स्वस्थ ढाँचा कायम राख्नका लागि
   पत्ता टिप्न सजिलो होस् भन्नका लागि:
पात टिप्न सजिलो होस् भन्नका लागि चियाका बोटलाई होचा, फिँजिएका र फराकिला हुने गरी छाँटकाँट गर्नुपर्छ।

पत्तिको टिपाइ

परिपक्व भइसकेका चियाका बोटबाट पत्ती टिपिन्छ। एक पटकको टिपाइमा दुईवटा कलिला मुना पातहरू मात्र टिप्ने गरिन्छ। ७ देखि १० दिन पछि बुटामा फेरि नयाँ पालुवा आउँछन् र तिनीहरूलाई पुन: टिपिन्छ। कुशलतापूर्वक गरिने यो काम पत्ती टिप्न माहिर महिलाहरूबाट गराउने प्रचलन रहेको छ। यस्ता सिपालु महिलाहरूले औंलाले च्यापेर चियाका पत्ति टिप्छन् र आफैंले ढाडमा बोकेका डोकामा फुत्त फुत्त हुत्याउने गर्दछन्। दुईपाते मुना र कोपिला मात्र टिपेर बनाइने चिया गुणस्तरीय मानिन्छ जबकि चारवटा पात टिपेर बनाइने चिया अलि निम्न स्तरको मानिन्छ।
प्रशोधन नगरिएको एक किलो चिया बनाउनका लागि २००० देखि ३००० हजारसम्म चियाका मुनाको आवश्यकता हुन्छ। यसको अर्थ एकै दिनमा धेरै चिया पत्ति टिप्ने गरिन्छ।
टिपिसकेपछि ताजा मुनाहरूलाई तौलिएर चिया फ्याक्र्टिमा पठाइन्छ।