अङ्ग्रेजीमा 'पिनट' भनिने वस्तु नेपालमा 'बदाम' भनेर चिनिन्छ। नेपालमा सबैतिर उपभोग गरिने खाद्य पदार्थमा बदाम पर्दैन। तर हाल आएर कतिपय साना उद्योगहरूले निकै ठुलो मात्रामा बदाम प्रशोधन गर्ने र प्याकिङ गर्ने काम गर्न थालेका छन्। गत दुई दशकमा नेपालका विभिन्न भागका किसानहरूले नगदे बालीका रूपमा उल्लेख्य मात्रामा बदाम खेती गर्न थालेका छन्। तेल उत्पादनका लागि बदामको पर्याप्त माग हुन थालेको पनि छ।

हावापानी र मौसम
बदाम उपोष्ण प्रदेशमा फस्टाउने कोसेबाली हो। बदामको राम्रो उत्पादनका लगि उष्ण तापक्रम तथा ५०० देखि ६०० मिलिमिटर वर्षाको आवश्यकता पर्छ भने चिस्यान कायम हुने माटो उपयुक्त हुन्छ।
सामान्यतया, वर्षायाममा बदाम रोपिने हुँदा यसलाई बर्खे बालीका रूपमा चिनिन्छ। पहाडी भेगमा ग्रीष्मकालीन बालीका रूपमा बदामको खेती गरिन्छ भने अन्यन्त्र वसन्त ऋतु (चैत-वैसाख) मा पनि बदाम रोप्ने गरिन्छ।

बिउबिजनको स्रोत र प्रकार

सामान्यतया किसानहरूले आफ्नै उत्पादनबाट बिउ छान्ने र सुरक्षित राख्ने गर्दछन् । नगदे बालीका रूपमा बदामको खेती गर्ने किसानहरूले बजारबाट गुणस्तरीय बिउ किन्ने गर्दछन्। नेपालमा NARC नामक संस्थाले उच्च गुणस्तरीय बिउ बिजनहरू उपलब्ध गराउँदै आएको छ।

माटाको तयारी

माटालाई नरम र खुकुलो बनाउनका लागि पटक पटक जोत्ने र पटाहा लगाएर डल्ला फुटाउने गर्नुपर्छ। माटो तयार गर्नका लागि किसानले कडा मेहनत गर्नुपर्ने हुन्छ। खेतमा रहेका ढुङ्गाहरू पनि पन्छाउनु पर्दछ। माटाको तयारी गर्दै गर्दा गोबर मल/ कम्पोस्ट मल छर्नुपर्छ। यसरी पहाडी क्षेत्रमा जनवरीमा र तराईमा फरबरी महिनामा जोत खन गर्न थालिन्छ। माटो तयारी गर्नका लागि किसानहरूले कोदालो प्रयोग गर्दछन्। आजकल जोत्नका लागि ट्र्याक्टरको पनि प्रयोग गर्न थालिएको छ।

रोपाइ

हलोले जोतेर बनाइने सियामा १२ देखि १८ इन्चको दुरीमा एक एक दाना खसाउँदै वा कोदालाले वा फलामे डन्डीले खनेर बनाइएका खाल्डामा बिउ हालेर बदाम रोप्ने गरिन्छ। यसरी रोपिएका दानालाई माटाले धेरै बाक्लो गरी पुर्नु हुँदैन। बिउलाई चिसा माटाले ३ देखि ६ सेन्टिमिटर बाक्लो गरेर छोप्नुपर्छ। रोप्ने काम बिहान गर्ने गरिन्छ किनभने यसबेला माटामा चिस्यान बढी हुन्छ जसले गर्दा बिउ सजिलै उम्रिन्छ। रोप्ने बेलामा मात्र बदामका खबटा हटाइन्छ । एक हेक्टर जमिनका लागि औसत १०० देखि १२० केजी खोस्टासहितका दानाको आवश्यकता पर्छ। कहिलेकाहीँ रोप्नुभन्दा अघि बदामका बिउ दानामा मट्टितेल छर्कने गरिन्छ । मट्टितेलले उम्रने क्रममा रहेको बिउलाई कमिला लगायतका विभिन्न कीराहरूबाट जोगाउँछ।

सम्बर्द्धन प्रक्रिया

बदामलाई कतिपय पातजन्य र माटोजन्य रोगहरूले असर गर्दछन्। बाली चक्र, विविधताको चयन र ढुसीनाशक विषादीको प्रयोग जस्ता व्यवस्थापन अभ्यासबाट यस्ता रोगहरूको प्रभावलाई घटाउन सकिन्छ। मकैबारीमा पनि बदाम रोप्न सकिन्छ। सामान्यतया माटाको संरचना कायम राख्न र माटोजन्य र अन्य रोगहरूबाट जोगाउनका लागि बाली-चक्रको प्रयोग गरिन्छ।

गोडमेल

बदाम खेतीबाट राम्रो उब्जनी लिनका लागि नियमित गोडमेलको आवश्यकता हुन्छ। सामान्यतया छरेको एक महिना पछि पहिलो पटक गोड्ने गरिन्छ। पटक पटक झारपात उखेल्नु आवश्यक हुन्छ। कहिलेकाहीं पहिलो पटक गोड्ने क्रममा युरिया लगायतका रासायनिक मल हालिन्छ।

सिँचाइ

वर्षा याममा रोपिने हुँदा सिँचाइको त्यति महत्त्व हुँदैन। हप्तामा एक इन्च पानी भए बदामलाई पर्याप्त हुन्छ। कोसेबाली भएकाले बदामले आफैं नाइट्रोजनको आपूर्ति गर्ने हुँदा नाइट्रोजन-मिश्रित रासायनिक मल हाल्नुपर्दैन। यसो गरियो भने फलको साटो पात मात्रै फस्टाउँछन्। राम्ररी तयार गरिएको माटोबाट बोटलाई चाहिने सबै खालका पोषक तत्त्वहरू उपलब्ध हुन्छन्।

मलखाद

नेपालमा NARC ले प्रतिहेक्टर जमिनका लागि २० के.जी. नाइट्रोजन, ४० के.जी. फोस्फोरस र २० के.जी. पोटासियम सिफारिस गर्दछ। ठुला बोट हुने र ठुला कोसा लाग्ने कतिपय बालीहरूका लागि सल्फर र क्याल्सियमको थप आवश्यकता हुन्छ। बदाम खेतीका लागि Risobium N.C. 92 जैविक मल प्रयोग गर्न पनि सिफारिस गरिन्छ।

बाली उठाउने

बदामको बाली उठाउने बेला भएपछि बोट सुक्छन्। बिरुवा उखेलेर वा खनेर बाली उठाउने गरिन्छ। निम्नलिखित अवस्थामा बदाम खेती उठाउने बेला भएको बुझ्नुपर्छ।

   बोट पहेंला भएर सुक्ने
   रोपेको ११० देखि १५० दिनमा बदामका फल परिपक्व हुने
   कोसाभित्रका दाना कडा हुने
खेतका गरामा निकै समयसम्म छोडिराखेर सुकाउँदा हुने क्षतिबाट जोगाउनका लागि बदामलाई कृत्रिम रूपले सुकाउने गरिन्छ। सर्वप्रथम बदामका दानामा रहेको माटो सफा गरिन्छ। उच्च गुणस्तरीय उत्पादनका लागि तापक्रम, आर्द्रता, हावाको बहाव तथा सुकाइको प्रक्रियालाई कडाइका साथ अनुसरण गर्नुपर्छ।

बिउको भण्डारण

सनपाटका बोरामा राखी सुत्लीले राम्ररी मुख सिलाएर बदामको बिउ सुरक्षित गरिन्छ। निमका पत्ताले बिउलाई किराबाट बचाउने हुँदा बिउ राखिएका बोरामा निमका पात राख्नु राम्रो हुन्छ। बिउ राखिएका बोराहरूलाई सुख्खा तथा हावा लाग्ने ठाउँमा राख्नुपर्छ। कतियप रासायनिक औषधीले पनि बिउलाई कीराबाट जोगाउन मदत गर्दछन्।

नेपालका तराइ तथा पहाडी क्षेत्रमा बदाम-खेतीको अभ्यास

माटाको तयारी

छराइ

गोडमेल

मलखाद

बाली उठाउने

तराई

फरबरी, मार्च र अप्रिल

मई- जुन

छरेको एक महिनापछि

माटो तयार गरिसकेपछि नाइट्रोजन,फस्फोरस र पोटास छरिने।
गोडेको एक हप्तापछि युरिया हाल्नुपर्ने

अगस्टदेखि सेप्टेम्बरसम्म

पहाड

जनवरी-फरबरी

मार्च-अप्रिल

छरेको एक महिनापछि

माटाको तयारीका क्रममा कम्पोस्टको प्रयोग गरिने
गोड्ने काम सकिएपछि युरियाको आवश्यकता हुनसक्ने

अगस्टदेखि अक्टोबर