नेपालको पूर्वी क्षेत्रमा लगाइने ठुलो अलैंची पनि नगदे बाली हो। संसारभरिको उत्पादनमध्ये लगभग २५०० मेट्रिक टन (३३.३%) अलैंचीको उत्पादन नेपालमा हुन्छ। तर प्राकृतिक विपत्ति तथा भाइरल तथा ढुसीजन्य रोगहरूका कारण उत्पादन घट्दै गएको छ।
मसला तथा आयुर्वेदिक औषधी बनाउनका लागि अलैंचीको प्रयोग हुने गर्दछ। यसबाट मीठो सुवास आउने हुँदा तरकारीका परिकार तथा अन्य खाद्यपदार्थलाई सुगन्धित बनाउनका लागि यसको प्रयोग गरिन्छ। घाँटीको समस्या, फोक्सोको रोकावट, आँखाका पलकमा हुने जलन, पाचनप्रणालीको समस्या तथा फोक्सामा हुने क्षयरोगको उपचारका लागि पनि अलैंचीको प्रयोग गरिन्छ।

हावापानी तथा माटो
वार्षिक ३००० देखि ३५०० वर्षा हुने १००० देखि २००० मिटरको उचाइमा रहेका जङ्गली रूखहरूका छायामा अलैंची राम्ररी फस्टाउँछ।
गहिरो तथा राम्ररी पानी निकास हुने मट्याइलो ठाउँ अलैंचीका लागि सबैभन्दा राम्रो मानिन्छ। जमिनमा ४.५ देखि ६.० सम्म pH हुनुपर्छ। अलि भिरालो खालको जमिन प्राथमिकतामा परे पनि पानीको छालजस्तो अग्लो होचो र भिरालो जग्गामा पनि अलैंची लगाउन सकिन्छ। अलैंची खेतीका लागि नाइट्रोजन, मध्यम स्तरको फस्फोरस र पोटासजस्ता जैविक तत्त्वयुक्त माटो उपयुक्त हुन्छ।

विस्तार

दाना बिउ वा जमिन मुनिका जराको प्रयोग गरेर बिरुवाको विस्तार गरिन्छ। बिउबाट बिरुवा उमारिन्छ। प्रति-पराग सेचनद्वारा बिरुवाको उत्पादन घटेको छ। जङ्गली मौरी तथा घरेलु मौरीले पराग सेचन गर्दछन्। धेरै फल्ने बोटका जराको प्रयोग गरेर रोपाइ गर्न सकियो भने उत्पादन बढाउन सकिन्छ।

प्राथमिक विरूवा घर र बिउ छराइ

सेप्टेम्बर-अक्टोबरमा अलैंचीको बिउ राखिन्छ। बियाडका लागि ड्याङ तयार गर्न पानी निकास हुने ठाउँमा ३० से.मि. गहिरो खनेर अनुकूल मौसमका लागि छोडिन्छ। १५ देखि २० से.मि. अग्ला १ मिटर चौडा र आवश्यक लम्बाइका (६ मिटर अपेक्षित) ड्याङ उठाइन्छ। राम्ररी पचेको गोबर मल माटामा मिसाइन्छ र राम्ररी खनजोत गरेर ड्याङको सतह मिलाइन्छ। १०/१० से.मि.को अन्तरमा बनाइएका प्रत्येक ड्याङमा ८० देखि १०० ग्राम दाना बिउ छरिन्छ। त्यसपछि बिजनलाई धुलो माटोले पुरिन्छ र सुख्खा घाँस वा परालको झ्यासले १० देखि १५ सेन्टिमिटर बाक्लो गरी ड्याङलाई ढाकिन्छ। ड्याङको सतहमा चिस्यान कायम राख्नका लागि नियमित रूपमा पानी हाल्नु पर्ने हुन्छ। बिउ छरेको २५ देखि ३० दिनसम्ममा एसिडले उपचार गरिएका बिजनमा जरा आउन थाल्छन्। आवश्यक भएमा गोडमेल गरिन्छ। जब बिरुवाहरू ३ वा ४ पाते हुन्छन् अनि तिनीहरूलाई अर्को ड्याङमा सारिन्छ।

पोलिथिन बिरुवा-घरहरू

बिरुवाहरूलाई पिँधमा प्वाल पारिएका १५x१५ सेन्टिमिटरका पोलिथिन झोलामा रोपिन्छ। पोलिथिनका ब्यागमा ४:१:१ का अनुपातमा माटो, बालुवा र गोबरको मिश्रण भरिएको हुन्छ। यी ब्यागहरूलाई छायाँमा राखिन्छ र एक मिटर चौडा पंक्तिमा श्रेणीबद्ध गरिन्छ। ३/४ पाते बिरुवाहरूलाई अप्रिल वा मईमा ब्यागमा राखिन्छ र नियमित पानी दिइन्छ। १० देखि १२ महिनामा ती फल्न थाल्छन्।

दोस्रो बिरुवा-घर

१५x१०० से.मि. (उचाइxचौडाइ) का ड्याङ बनाइन्छ; राम्ररी पचेको गोबरमल माटामा हालिन्छ र सतह समेत मिलाइन्छ। मई-जुनमा ३/४ पाते बिरुवाहरू १५ से.मि.को अन्तर पारेर ड्याङमा रोपिन्छ। सिँचाइ तथा छायाका माध्यमबाट माटामा चिस्यान कायम राखिन्छ। जब बिरुवाहरू ४५ देखि ६० से.मि.का हुन्छन् अनि अर्को वर्षको जुन-जुलाइमा ती बिरुवाहरूलाई खेतमा सारिन्छ।

टुसा बढाउने बिरुवा घर

उम्रिएका टुसाबाट रोग नसरोस् भन्नका लागि टुसा बढाउने बिरुवा घरमा मात्र टुसा उमार्नु पर्दछ। बिरुवा घर र अलैंची रोप्ने ठाउँको दूरी कम्तीमा ५०० मिटर हुनुपर्छ । चाहे त्यो जङ्गलका रूखका छायामा होस् वा कृषि छहारीको प्रयोग गरी बनाइएका ५०% छाया सृजना गर्ने छहारी पन्डालमा होस्। गोबर मल वा कम्पोस्ट मलको प्रयोग गरेर माटालाई राम्ररी धुल्याउनु पर्दछ त्यही माटाले बिरुवा सार्ने खाडलहरू भर्नुपर्दछ। ३० से.मि. गहिरा ३०x३० का खाडल खनेर तयार गरिन्छ। अनि मुना पलाउन थालेका टुसाहरूलाई ३० से.मि.को अन्तरमा रहेका खाडलहरूमा रोपिन्छ। मई-जुन रोप्ने उपयुक्त समय हो। रोपिसकेपछि बिरुवाका फेदमा रूखका सुकेका पातहरू हालिदिनुपर्छ। टुसाको वृद्धि वार्षिक १:८ का अनुपातमा हुन्छ। ठुला भइसकेका मुनाहरूलाई एकएक गरी छुट्याएर खेतमा लगेर रोपिन्छ।

जमिनको तयारी

रोप्नुभन्दा अगाडि नै जमिनबाट सबै खाले झारपात र पुराना बोटहरू हटाउनु पर्दछ। मनसुन आरम्भ भएपछि १.५ x१.५ से.मि. फरक पारेर ३० x३० x३० से.मि.का खाडलहरू खनिन्छ । ती खाडलहरूलाई मौसम अनुकूल बनाउनका लागि पन्ध्र दिन सम्म त्यसै छोडिन्छ र त्यसपछि १ देखि ३ केजीका दरले गोबर मल वा कम्पोस्ट मल खाल्डामा हालिन्छ।

रोपाइ

ठूलो अलैंची पाँगो माटो भएको सामान्य वा मध्यमस्तरको भिरालो ठाउँमा फस्टाउँछ। पानी जम्ने ठाउँ बिरुवाको वृद्धिका लागि हानीकारक हुन्छ। रूखको छायामा यो राम्ररी बढ्छ। बिरुवा वा टुसालाई खाडलका बीचमा रोपिन्छ। बिरुवा वा गानालाई खाडलमा धेरै गाडेर रोप्नु हुँदैन। रोपिसकेपछि बिरुवा वा टुसाका फेदमा सुकेका पात राखिदिनु पर्छ।

मलखाद

प्रत्येक बोटमा २ केजीका दरले कम्तीमा दुई वर्षमा एक पटक अप्रिल-मई महिनामा राम्ररी पचेको गोबर मल वा कम्पोस्ट र पिना मिसाएर हाल्नुपर्छ।

गोडमेल

झारपातको प्रभावकारी नियन्त्रणका लागि प्रारम्भिक दुई वा तीन वर्षमा तीन पटकसम्म गोड्ने काम गर्नुपर्छ। झारको घनत्वका आधारमा हातैले वा हँसियाका सहायताले झारपात पन्छाउनु पर्ने हुन्छ। बोटमा फेदको झारपात हटाउन हातैले र वरपरको झारपात हँसियाले काटेर पन्छाउनु राम्रो हुन्छ। गोड्दै गर्ने सुकेका बिरुवाहरू र अन्य वस्तुहरूलाई माटाका लागि आवश्यक झ्यासका रूपमा प्रयोग गर्न सकिन्छ।

सिँचाइ

पन्ध्र पन्ध्र दिनको अन्तरालमा प्रति बोट ४० देखि ५० लिटर पानी हाल्नुपर्छ। पाइपद्वारा वा फोहरा प्रक्रियाबाट वा कुलाबाट पानी लगेर पनि सिँचाइ गर्न सकिन्छ।

भाइरल रोगको व्यवस्थापन

भाइरल (विषाणुबाट सर्ने) रोगहरूबाट प्रभावित बोटहरूको उपचार हुन सक्दैन तर उपयुक्त किसिमले व्यवस्थापन गर्न सकियो भने क्षति घटाउन सकिन्छ।

   रोगबाट प्रभावित क्षेत्रको जानकारी लिन निरन्तर निगरानी गर्ने ।
   रोगका लक्षण देखापर्नासाथ प्रभावित बोटहरूलाई उखेलेर नष्ट गर्ने। निगरानी गर्ने र उखेल्ने कामलाई निश्चित समयको अन्तरालमा जारी राख्ने।
   प्रमाणीकृत बिरुवाघरमा उत्पादन गरिएका बिरुवाहरू मात्र रोप्ने।
   टुसाहरूबाट विस्तार गर्ने हो भने प्रमाणीकृत वृद्धि बिरुवाघरमा विकसित गरिएका टुसाहरूको मात्र प्रयोग गर्ने।

बाली उठाउने

सबैभन्दा माथिका घोगामा रहेका फलहरूको रङ् खैरो हुन थालेपछि बाली उठाउने काम गर्न सकिन्छ। फलेका बोटहरूलाई ३० देखि ४५ से.मि. माथि काटिन्छ र पूर्ण रूपमा विकसित गराउनका लागि १०/१५ दिन छोडिन्छ। विशेष किसिमका हाते औजार (चक्कु) को प्रयोग गरेर फलका गुच्छाहरू काटिन्छ। काटिएका गुच्छाहरूलाई थुपारिन्छ र फललाई छुट्याएर सुकाइन्छ। उपचार गरिएका दानाहरूबाट बाहिरी बोक्रालाई हटाउनका लागि जालरन्ध्रमा घोटिन्छ । परम्परागत पद्धति प्रयोग गरिँदा अलैंचीलाई आगामा सोझै सुकाउने गरिन्छ । यसो गर्दा दानाहरू कालो खैरो रङमा परिवर्तित हुने र त्यसबाट धुवाँको गन्ध पनि आउने हुन्छ। हाल सुधारिएका उपचार विधिहरू उपलब्ध छन् जसबाट अलैंचीलाई उच्च गुणस्तरीय र हेर्दा पनि राम्रो बनाउन सकिन्छ।

प्याकेजिङ गर्ने

राम्ररी सुकाइएका दानाहरूलाई चिस्सिन दिनु पर्छ र पोलिथिनले मोरेका सनपाटका बोरामा प्याक गर्नुपर्छ। ती बोराहरूबाट चिसोपना हटाउनका लागि काठका तख्तामा राख्नुपर्छ। यसो गर्दा भण्डारण गरिएको सामग्रीलाई नोक्सान गर्ने ढुसीलाई नियन्त्रण गर्न सकिन्छ।