Nepal Community Development Foundation
यस दर्तावाल परोपकारी संस्थाले सन् १९८९ देखि पूर्वी नेपालका विकासे परियोजनाहरूलाई सहयोग गर्दै आएको छ। नेपालका ग्रामीण क्षेत्रका हजारौं जनतामा खानेपानीको आपूर्ति, शिक्षा, स्वास्थ्यसेवा लगायत आशाको सञ्चार गराउने कार्यमा सहयोग गरेको छ।
 

 

  Nepal Forum of Environmental journalists (NEFEJ)
वातावरण पत्रकारिताको सम्बर्द्धनका लागि सन् १९८६ को जुन १ तारिकमा यस संस्थाको स्थापना गरिएको हो। त्यसैबेला देखि यस संस्थाले संवाद, अध्ययन, सार्वजनिक नीतिनियममा प्रभाव तथा वातावरण संरक्षण र दिगो विकासका लागि मञ्च उपलब्ध गराउँदै आएको छ। वातावरण संरक्षण, सचेतना निर्माण र दिगो विकासका लागि NEFEJ ले निरन्तर काम गरिरहेको रहेको छ। यस क्षेत्रमा संस्थाले हासिल गरेका सफलताका अनेक दृष्टान्तहरू छन्। वातावरण सम्बन्धी कानुन र अधिकारको निर्माण र संशोधनका लागि वातावरण निर्माण गर्न यस संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। त्यसबाहेक, उपयुक्त किसिमले राजधानीको फोहर व्यवस्थापन गर्ने विषयमा वकालत गर्न पनि संस्था सफल भएको छ। रेडियो सगरमाथा, सामुदायिक रेडियो सपोर्ट सेन्टर, मिडिया तालिम केन्द्र र श्रव्य-दृश्य विभाग जस्ता चारवटा प्रमुख विभागहरू मार्फत NEFEJ ले आफ्ना कार्यक्रमहरू सञ्चालन गर्दछ। 'आँखी झ्याल' NEFEJ ले हालसम्म प्राप्त गरेको सबैभन्दा ठूलो सफलता हो। यस संस्थाले वृत्तचित्र निर्माताहरूलाई प्राविधिक सहायता समेत उपलब्ध गराउँछ।
 

 

  Nepal Participatory Action Network (NEPAN)
सन् १९९५ मा यस संस्थाको स्थापना भएको हो। नेपालका गरिब तथा अवसरबाट वञ्चित मानिसहरू दिगो, समानतामूलक तथा मानवीय विकासका प्रमुख केन्द्र भएको अवस्थाको NEPAN परिकल्पना गर्दछ । अनुसन्धान, पैरवी, लबिङ तथा क्षमता विकास गतिविधिका माध्यमबाट मानिसहरूलाई सशक्त पार्नका लागि यस संस्थाले सहभागितामूलक विकासको अवधारणालाई सम्बर्द्धन र सहजीकरण गर्दछ। यसका प्रमुख गतिविधिहरू निम्नानुसार छन्:
  • सहभागितामूलक विकासका लागि आफ्ना सदस्यहरूको प्रयासमा सहयोगी र सम्पूरकको भूमिका निर्वाह गर्दै सहभागितामूलक कार्यका सिद्धान्तहरूको संबर्द्धन, पैरवी र अनुभवहरूको आदान प्रदानका लागि गोष्ठी, सम्मेलन, कार्यशाला र बैठकहरूको आयोजना गर्दछ ।
  • जनताको विकासमा उनीहरूकै सहभागिता सुनिश्चित गर्न आवश्यक पर्ने सीप र ज्ञानको विकास गर्नका लागि तालिम कार्यक्रम र कार्यशालाहरूको आयोजना गर्दछ।
  • सहभागितामूलक अवधारणाप्रतिको सुझबुझ र अभ्यासमा प्रगति गर्ने उद्देश्यले पद्धतिगत अनुसन्धान सम्पादन गर्दछ।
  • नियमित रूपमा सहभागितामूलक कार्य तथा विकाससँग सम्बन्धित समाचार, विचार तथा अनुभवहरूको प्रकाशन र प्रचार गर्दछ।
  • सहभागितामूलक विकासलाई सहजीकरण गर्नका लागि सल्लाह र आवश्यक सहयोग प्रदान गर्दछ।
  • अन्य समान प्रकृतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई आपसमा जोड्ने र तिनीहरूसँग सहकार्य गर्ने गर्दछ।
 

 

  Nepal School Projects
सन् १९७५ मा यसको स्थापना भएको हो। संस्थाको उद्देश्य नेपालका ग्रामीण क्षेत्रमा सञ्चालित विकासे कार्यक्रहरूका लागि रकम सङ्कलन गर्नु र उपलब्ध गराउनु हो। अवसरको कमी भएका दीनहीन जनताहरूलाई लाभान्वित पार्ने सामान्य परियोजनाहरूलाई यस संस्थाले विशेष महत्त्व दिन्छ।
 

 

  Nepal Wireless Project
यस संस्थाले तारविहीन प्रविधिका माध्यमबाट नेपालका दुर्गम गाउँहरूमा इन्टरनेट, विद्युतीय व्यापार, दूरौषधि लगायत अन्य सेवा उपलब्ध गराउँछ । सन् १९९६ मा महावीर पुनले विद्यालयको वेब साइट प्रयोग गरेर स्वयंसेवकहरूलाई आकर्षित गरी विद्यालयका लागि सामग्री जुटाउने काम गरे। सन् २००२ मा नाँगी र नजिकको अर्को गाउँ राम्चेलाई जोड्नका लागि Wi-Fi मा आधारित वायरलेस कनेक्टिभिटीको स्थापना गरिएको थियो। पाँच वर्षपछि नाँगी गाउँलाई इन्टरनेटमा पहुँच भएको सबैभन्दा नजिकको पोखरा बजारसँग जोड्न टोली सफल भयो।