Lutheran World Federation-Nepal (LWF Nepal)
सङ्कटकालीन स्थितिलाई तत्काल सम्बोधन गर्न, विपत्तिबाट हुने जोखिमको व्यवस्थापन, दिगो आजीविका र शान्ति र मेलमिलाप तथा मानवअधिकार जस्ता क्षेत्रमा सीमान्तीकृत र अवसरबाट वञ्चित समुदायमा काम गर्ने उद्देश्यले सन् १९८४ मा यस संस्थाको स्थापना भएको हो। यसले मानवतावादी र विकास लक्षित कार्यक्रमहरूको निर्माण र कार्यान्वयन गर्नका लागि सशक्तीकरण, मानव अधिकारमा आधारित, एकीकृत र सहभागितामूलक पद्धति ग्रहण गर्दछ।
 

 

  Maiti Nepal
घरेलु हिंसा, यौनजन्य क्रियाकलापमा संलग्न गराउनका लागि गरिने बेचबिखन, बाल वेश्यावृत्ति, बाल श्रम लगायत शोषण र यातनाका विविध स्वरूपबाट नेपाली बालिका तथा महिलाहरूको संरक्षण गर्ने अभियानका रूपमा सन् १९९३ मा यो संस्थाको स्थापना गरिएको हो। अपराध अनुसन्धान तथा अपराधीहरूका विरुद्ध कानुनी लडाइँ गर्दै कैयौं पीडित बालिका तथा महिलाहरूलाई न्याय दिलाउने कार्यमा समेत यो सामाजिक संस्था सक्रिय रहेको छ। संस्थाले महिला बेचबिखनको समस्याका सम्बन्धमा स्थानीय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म सशक्त रूपमा आवाज उठाउँदै आएको छ।
 

 

  Martin Chautari
यो सन् १९९१ मा स्थापना भएका अनुसन्धान तथा नीति-केन्द्री संस्था हो। पछि सन् २००२ मा यो दर्तावाल गैरसरकारी संस्था भयो। हाल लैङ्गिक समानता र समावेशीकरण जस्ता विषयहरूसहित लोकतन्त्र, सञ्चार तथा शिक्षा सम्बन्धी नीति र अनुसन्धानमा यो संस्था केन्द्रित रहेको छ। यसको प्राथमिक उद्देश्य सार्वजनिक विषयहरूलाई विस्तृत र समावेशी बनाउँदै सुसूचित संवाद, विश्लेषणात्मक दृष्टिले सशक्त अनुसन्धान र सम्भाव्य नीति छनौटसहित राज्य र नागरिकका बिचका सामाजिक सम्झौताहरूलाई मजबुत पार्नु हो।
 

 

  National Trust for Nature Conservation (NTNC)
नेपालमा प्रकृति संरक्षणका क्षेत्रमा कार्य गर्नका लागि सन् १९८२ मा यस संस्थाको स्थापना भएको हो। दुई दशकभन्दा बढी समयदेखि यस संस्थाले प्रकृति संरक्षण, जैविक विविधता, सांस्कृतिक सम्पदाको संरक्षण, पर्यावरणीय पर्यटन तथा दिगो विकास सम्बन्धी २०० भन्दा बढी साना ठुला परियोजनाहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ । संस्थाका कार्यक्रमहरू चितवन, बर्दिया, कन्चनपुर जस्ता तराईका जिल्लाहरूदेखि हिमालपारि माथिल्लो मुस्ताङ र मनाङ अन्नपूर्ण, मनासलु लगायका उच्च हिमाली क्षेत्र सम्म फैलिएका छन्।

हाल यस संस्थाका कार्यक्रमहरू तराई, मध्य पहाडी क्षेत्र (काठमाडौं उपत्यका) र उच्च हिमाली क्षेत्रमा फैलिएका छन्। संस्थाका तराई केन्द्रित कार्यक्रमहरू चितवनमा Biodiversity Conservation Center (BCC) मार्फत, बर्दियामा Bardia Conservation Program (BCP) मार्फत र कन्चनपुरमा Suklaphanta Conservation Program (SCP) मार्फत नेपालको मध्यमाञ्चल, पश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गतका चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा आसपासका क्षेत्रमा सञ्चालित छन् । त्यसैगरी, Annapurna Conservation Area Project (ACAP), the Manaslu Conservation Area Project (MCAP) र Gaurishankar Conservation Area Project (GCAP) संस्थाले व्यवस्थापन गरेका तीनवटा संरक्षण क्षेत्र हुन् । काठमाडौं उपत्यकामा सदर चिडियाखाना मात्र संस्थाको परियोजना अन्तर्गत रहेको छ। नयाँ थालनीका रूपमा संस्थाले जलवायु परिवर्तन सम्बन्धी उदियमान समस्यालाई सम्बोधन गर्नका लागि न्यूनीकरण तथा अनुकूलन पद्धति र पुनर्नवीकरणीय ऊर्जा प्रविधिका माध्यमबाट ऊर्जा र मौसम परिवर्न एकाइको स्थापना गरेको छ। वाग्मती नदी संरक्षण परियोजनासँग मिलेर यस संस्थाले सहरी वातावरण संरक्षणका क्षेत्रमा समेत कार्य गर्न थालेको छ।

 

 

  Nepal Australia Friendship Association (NAFA)
साना विकासे परियोजनाहरूका माध्यमबाट जनताका शारीरिक, सामाजिक, भावनात्मक तथा आर्थिक कल्याणका निम्ति कार्य गर्ने उद्देश्यले सन् १९८९ मा यस संस्थाको स्थापना भएको हो । सहयोग कार्यक्रमका उद्देश्यहरू निम्न छन्:
  • नेपालका ग्रामीण तथा ठुला सहरी क्षेत्रमा रहेका समुदायका मानिसहरूको शारीरिक, सामाजिक, भावनात्मक, तथा आर्थिक उन्नति गर्ने
  • समुदायमा आधारित परियोजनाहरूलाई आर्थिक सहायता प्रदान गर्ने
  • पूर्ण सहभागिताका लागि समुदायका सदस्यहरूलाई प्रोत्साहित गर्ने
  • सांस्कृतिक रूपले संवेदनशील तथा समुचित ढाँचाभित्र रहेर सहयोग प्रदान गर्ने
  • संस्थाका कार्यक्रमहरू सहरी तथा ग्रामीण क्षेत्रमा केन्द्रित भएको सुनिश्चित गर्ने
  • विकास सम्बन्धी परियोजनाहरूले समुदायका सबै सदस्यहरू (विशेषत: महिला तथा बालबालिका) लाई सहयोग गर्ने कुरा सुनिश्चित गर्ने
  • सबै परियोजनाहरू आत्मनिर्भर हुनुपर्ने