कृषिको उत्पादकत्व:
कृषिजन्य निवेश र उत्पादनको अनुपातका आधारमा कृषि उत्पादकत्वको मापन गरिन्छ। सामान्यतया वजारमूल्यका आधारमा उत्पादित वस्तुको एवं श्रम तथा भूमिका आधारमा निवेश (लगानी) को मापन गरिन्छ। यसलाई उत्पादकत्वको आंशिक मापन भनिन्छ। समग्र उत्पादन तत्त्व (TFP) का आधारमा पनि कृषि उत्पादकत्वको मापन गरिन्छ। यस पद्धतिले कृषि निवेश र कृषि उत्पादकत्वको सूचकाङ्कको तुलना गर्दछ। कृषि उत्पादकत्वको यो मापकको स्थापना उत्पादकत्वको आंशिक मापनका कमी-कमजोरीहरूलाई पूरा गर्नका लागि भएको हो। खासगरी कतिपय तत्त्वहरू कसरी परिवर्तन हुन्छन् भन्न नसकिए पनि कुल उत्पादक तत्त्वमा परिवर्तन प्रविधिगत परिवर्तनसँग सम्बन्धित हुन्छन्।

कृषि उत्पादकत्व घटाउने वा बढाउने विभिन्न तत्त्वहरू हुन्छन् । तीमध्ये केही यस प्रकार छन्:

  

हावापानी
हावापानी (मौसम) मा कृषकको नियन्त्रण हुँदैन। खडेरी, लामो झरी, समयभन्दा अघि वा पछि पर्ने तुसारो लगायतका असामान्य मौसमी परिस्थितिले बालीनालीमा असर पुर्यामउने हुँदा कृषि उत्पादकत्व स्वत: घट्दछ।

  

किरा
किराले जमिनको उत्पादन बढाउँछन्। उत्पादन लागत पनि घटाउँछन् तर दीर्घकालीन रूपमा जमिनको ऊर्वरता घट्दछ।

  

जमिनको उर्वराशक्ति
क्षमताभन्दा बढी उत्पादनका लागि जमिनलाई वाध्य पार्न सकिन्न तैपनि उत्पादन क्षमता बढाउने कतिपय विधिहरू छन् । जस्तै, रासायनिक मलको प्रयोग गरी जमिनलाई मलिलो बनाएर बढी उत्पादन प्राप्त गर्न सकिन्छ।

  

औजार
यान्त्रिक कृषि औजारको पहुँच नभएका क्षेत्रमा मानिसहरूले आफ्नै हातले खेती गर्ने हुँदा स्वभावैले उत्पादन पनि कम हुन्छ। यस्तो खेती प्रणालीमा समय, उर्जा, र पैसा बढी खर्च हुन्छ भने जमिनको कुल क्षमतालाई पनि सीमित गर्दछ। त्यसैगरी बढी उत्पादन गर्ने उद्देश्यले विकसित गरिएका वर्णसङ्कर बिउ बिजनको प्रयोग गरेर कृषकहरूले उत्पादकत्व बढाउन सक्दछन्।

  

नवीनता
आफ्नो सिर्जनात्मक क्षमताको प्रयोग गरेर पनि कतिपय कृषकहरूले कृषिको उत्पादकत्व बढाउने गर्दछन्। यसै कारणले धेरै कृषि कम्पनीहरू र देशहरूले कृषिसम्बन्धी नयाँ प्रविधिको विकास गर्ने नयानयाँ पद्धतिको अनुसन्धानका क्षेत्रमा लगानी गर्दछन्। अघिल्लो पुस्ताका कृषकहरूको अनुभवबाट सिक्ने कुराले पनि कृषिमा नवीनता ल्याउन मदत गर्दछ। कहिलेकाहीं उत्तम पद्धतिहरू पहिले देखि नै प्रयोग भइराखेका पनि हुन्छन्।

  

बजारको माग र आपूर्ति
उपभोक्ताहरूको आवश्यकताका आधारमा कृषकहरूले आफ्ना गतिविधिहरू सञ्चालित गर्दछन् । यसको प्रभाव कृषि उत्पादकत्वमा पनि पर्दछ। उपभोक्ताको माग बढी छ भने कृषकहरू पनि प्राविधिक तथा अप्राविधिक पद्धतिहरूको प्रयोग गरेर बढी उत्पादन गर्ने प्रयास गर्दछन्।

  

सिँचाइ
कृषि उत्पादकत्वमा सिँचाइको महत्त्वपूर्ण भूमिका हुन्छ। सिचाइको उचित प्रबन्ध हुन सकेन भने स्वभावैले कृषिजन्य वस्तुको उत्पादन घट्दछ। वर्षाको पानी पर्याप्त नभएमा वा पानी नपरेमा कृषकहरूले सिँचाइको प्रबन्ध मिलाउनु पर्ने हुन्छ। साथसाथै पानी काट्ने नालीको पनि उचित प्रबन्ध मिलाउनु पर्ने हुन्छ।